हामीहरु एक्लै आफ्नो देशको रक्षा गरिरहेका छौंः युक्रेनी राष्ट्रपति

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  २ : ५२


किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महाशक्ति राष्ट्र रुसले हमला गरिरहँदा आफूहरु एक्लै रुससँग लडिरहेको बताएका छन।

शुक्रबार एक सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले आफूहरुले एक्लै आफ्नो देशको रक्षा गरिरहेको बताएका हुन्।

रुसी हमलाको घोर निन्दा गर्दै विश्वका अन्य देशहरुले युक्रेनको पक्षमा वक्तव्य जारी गरिरहेका छन्। तर, हालसम्म कुनै पनि देश आफ्नो राष्ट्रको रक्षामा नआएको युक्रेनी राष्ट्रपतिको भनाई छ।

‘हिजो जस्तै आज बिहान पनि हामी हाम्रो देशको एक्लै रक्षा गरिरहेका छौं’ जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्दै भनेका छन् ‘विश्वका महाशक्तिशाली राष्ट्रहरु मात्र टाढाबाट हेरिरहेका छन्’।

राष्ट्रपति जेलेन्स्कीले रुसमाथिको प्रतिबन्ध अझै कडा नभएको उल्लेख गर्दै युक्रेनमाथिको रुसी आक्रमणले हिटलरले सन् १९४१ मा राजधानी किभमा गरेको गोलाबारीको सम्झना गराएको बताएका छन्।

आफ्नो देशमा छिरेका रुसी सेनाले युक्रेनी सेना र सर्वसाधारण नागरिकलाई निशाना बनाइरहेको उनको भनाई छ।

रुसले युक्रेनमा विशेष सैन्य अपरेसनको घोषणा गरेपछि युक्रेनी राष्ट्रपतिले अन्यदेशहरुलाई सैन्य सहायताका लागि अपील गरेका थिए। हालसम्म कुनै देशले सहयोग नगरेको उनको गुनासो छ।एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्