काठमाडौं । युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको छ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
रुसले सैन्य हमला थालेर युक्रेनमा अशान्ति मच्चाइरहेका बेला बुधबार एक पत्रकार सम्मेलन गर्दै राष्ट्रपति जेलेन्स्कीले सम्बन्ध तोडेको घोषणा गरेका हुन्।
उनले रुससँग नझुक्ने चेतावनी पनि दिएका छन्।
उता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा रुसले गरेको सैन्य हमलाको निर्णायक जवाफ दिने चेतावनी दिएका छन्। यस्तै, अष्ट्रेलियाले रुसी हमलालाई क्रुर भन्दै निन्दा गरेको छ।
युरोपेली युनियनका वैदेशिक विभाग प्रमुख जोसेफ बोरेलले युरोपका लागि दोस्रो युद्धपछिको यो सबैभन्दा अँध्यारो समय भएको टिप्पणी गरेका छन्।