‘युक्रेनमा आक्रमणको घोषणा गर्ने पुटिन आधुनिक युगका हिटलर’

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ३ : ०७


किभ। युक्रेनका पूर्व राष्ट्रपति पेत्रो पोरोसेन्कोले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई हिटलरको संज्ञा दिएका छन्।

हिटलरकै कारण दोस्रो विश्वयुद्ध छेडिएको उदाहरण प्रस्तुत गर्दै युक्रेनमाथि आक्रमणको घोषणा गर्ने पुटिन आधुनिक युगका हिटलर भएको पोरोसेन्कोको भनाइ रहेको छ।

यतिबेला रुसले युक्रेनका हरेक हिस्सामा आक्रमण थालेको छ। हालसम्म ७ युक्रेनी नागरिकको मृत्यु भएको समाचार आएका छन्। आजको दिन दुःखद भएको तर जित युक्रेनकै हुने उनको भनाइ छ।

यतिबेला युक्रेनको राजधानी किभमा रहेको संसद भवनमा रुसको प्रतिकार गर्ने विषयमा संसद बैठक चलिरहेको छ।

बैठकमा जान पूर्व पोरोसेन्कोले पुटिनलाई हिटलर भनेका हुन्। सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।

युक्रेनले अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा आवद्ध हुने चाहना देखाइरहँदा रुसले विरोध गरेको थियो। रुसी माग अमेरिका लगायत पश्चिमा राष्ट्रले बेवास्ता गरेपछि र युक्रेनलाई नेटोमा आवद्ध गराउने सम्भावनाबीच रुस बिच्किएको हो।

रुसले पूर्वी युक्रेनमा रहेको डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य हालै घोषणा गरेको थियो। सो क्षेत्रमा रुसले समर्थन जनाएका हतियारधारी समूहको बर्चस्व छ।

सो क्षेत्रमा रुसी सेना शान्ति स्थापना गर्न जाने भनिएको थियो। तर यतिबेला रुसले आन्तरिक मामिलामा कसैलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै त्यहाँ आक्रमण थालिसकेको छ। बीबीसी र एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्