वडाध्यक्ष हुनु त यस्तो ! घरघरमै पुगेर सेवा, घरमै सेवा पाउँदा जनता दङ्ग

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  १ : ००


रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा न ९ ले टोलटोल तथा बस्तीबस्तीमा पुगेर नागरिकलाई घरदैलोमै सेवा दिएको छ ।

वडा कार्यालयको आयोजनामा मङ्सिर ८ गतेदेखि १२ गतेसम्म अभियान सञ्चालन भएको हो । जसबाट वडामा रहेका ८ सय ३२ जना ब्यक्तिहरुले घरदैलोबाटै प्रत्यक्ष सेवा प्राप्त गरेको वडाध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो । २ सय ९६ ले घरमै घरजग्गा राजश्व तथा तिरो बुझाएका छन् । जसबाट १ लाख २८ हजार ५ सय ४९ रुपैयाँ राजश्व संलन भएको छ ।

त्यस्तै, २ सय ४६ जनालाई निशुल्क स्वास्थ्य चेकजाँच तथा निशुल्क औषधि वितरण गरिएको छ । १७० घरपरिवारका ६ सय ८५ वटा पसुचौपायको निशुल्क स्वास्थ्य जाँच गरिएको छ भने औषधि पनि वितरण गरिएको छ ।

घरघरैमा पुग्दा २५ वटा बोका र २ वटा बहरको बन्ध्याकरण गरिएको छ भने अभियानमा १७ जनाको व्यक्तिगत सिफारिस गरिएको छ । ५ जनाको जन्मदर्ता पनि पनि गाउँमै पुगेर गरिएको छ । यसबाट २ हजार ७० रुपैयाँ राजश्व संकलन भएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

वडाका विभिन्न १२ जना महिलाहरुले इम्प्लान्ट राख्नुका साथै एक जनाले निकाल्नु भएको थियो भने ६० जना महिलालाई अस्थायी परिवार नियोजनसमन्धी सेवा दिइएको थियो । वडाध्यक्ष ओलीको नेतृत्वमा १२ जनाको टोली गाउँगाउँ पुगेको थियो । जसमा वडा सचिव टेकबहादुर रोका, स्वास्थ्य चौकी इन्चार्ज डिल्लीराज बोहरा, पशु प्राविधिक शिवराज महतारा, सुनौलो परिवार नेपाल मेरी स्टोपकी कार्यक्रम अधिकृत सुषमा घर्तीमगर, निर्मला बीसी, त्रिपुरा मल्ल, स्मृति जीएम, सहयोगी कुलप्रसाद ओली लगायत रहनुभएको थियो ।
 


प्रतिक्रिया दिनुहोस्