संसदमा एमसीसीः एमालेले अवरोध जारी राख्ने, काँग्रेसबाहेकका गठबन्धन एमसीसीको विपक्षमा

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १२ : ०३


काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग नलिने भएको छ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने प्रतिनिधिसभा बैठकको संसदीय प्रक्रियामा भाग नलिने बताएका हुन्।

‘हामी आज पनि संसद बैठकमा जान्छौं, तर संसदीय प्रक्रियामा सहभागी हुँदैनौं,’ भट्टराईले भने। संसदमा आफूहरुको माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग नलिने उनको भनाइ छ।

आफूले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा उपस्थित भएको भन्दै एमालेले लामो समयदेखि बैठक अवरोध गर्दै आएको छ। आज पनि यसैलाई निरन्तरता दिने प्रमुख सचेतक भट्टराईले बताए ।

आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। गत आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको हो।

एमाले एमसीसीको वबषयमा मौन भए पनि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही दिनयता भेटघाट बाक्लिएको । भेटवार्तामा भएका छलफलहरू सार्वजनिक गरिएका छैनन्। देउवा र ओलीबीच एमसीसी अनुमोदन गर्ने सहमति भएको हुन सक्ने अनुमान पनि गरिएको छ।

यसैबीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेतृत्वले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने प्रयास भए आफूहरु त्यसको विपक्षमा उभिने समान धारणा बनाएका छन्।

बिहीबार बिहान सिंहदरबारमा भएको कांग्रेस बाहेकका सत्ता गठबन्धन तीन दलको बैठकले यस्तो धारणा बनाएको हो।


प्रतिक्रिया दिनुहोस्