काठमाडौं । खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६/०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिबारे पहिलो चौमासिक समीक्षा बैठक सम्पन्न भएको छ ।
खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा मन्त्रालयको सभाहल सिंहदरबारमा बिहीबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र वित्तीय प्रगतिबारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए ।
बैठकको अध्यक्षता गर्दै खानेपानी मन्त्री मगरले निर्धारण गरी तोकिएका न्युनतम लक्ष्यहरु हासिल गर्ने दिशामा भन्दा पनि द्रूतगतिमा जनताले महसुस गर्नेगरी उपलब्धि हासिल गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो । जनताको आधारभूत आवश्यकता पूरा गर्नेगरी काम रफ्तारमा अघि बढाउन उहाँले सबै प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
‘अघिल्लो आर्थिक वर्ष समृद्धिको आधार वर्ष थियो । तर अब यो वर्ष उपलब्धिको वर्ष हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘जनताका आवश्यकता धेरै छन्, सँगसँगै चुनौति र समस्या पनि उत्तिकै छन् । आवश्यकता र जनताको मौलिक अधिकारलाई ध्यान दिएर हामीले कार्य अघि बढाउनुपर्नेछ ।’ उहाँले थप जोड दिँदै भन्नुभयो, ‘आधार वर्ष मात्रै भनेर सधैंभरि यो छुट हामीलाई छैन । कामको प्रगति हिसाबमा भन्दा पनि जनताले महसुस गर्ने गरी काम अघि बढाउनुस् ।’
उहाँले खानेपानी र सरसफाई जस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दिगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औंल्याउनुभयो । मन्त्री मगरले भन्नुभयो, ‘मन्त्रालयको यो पहिलो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन । हामीले लक्ष्य पूरा गर्न धेरै संघर्ष गर्नुपर्ने छ । आयोजना अगाडि बढाउने सवालमा खानेपानीको क्षेत्रमा धेरै समस्या छन् । एकातिर सामाजिक समस्या छन् अर्कोतिर जनशक्तिको अभाव छ । अभावका बीच जनताले प्रत्यक्ष लाभ पाउने र महसुस गर्नेगरी काम गर्नुपर्ने छ ।’
समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले पूँजीगत खर्च बढाउने गरी आयोजनाका कामहरु द्रूतगतिमा अघि बढाउन आग्रह गर्नुभयो । सदस्य डा. गुरुङले पन्ध्रौं योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अझ बढी केन्द्रित रहन सुझाव दिनुभयो । निर्माणाधीन मात्रै नभई सम्पन्न भइसकेका आयोजनाहरुको अवस्था के कस्तो छ भनेर ध्यान दिन उहाँले आग्रह गर्नुभयो । नेपाल खुला दिसामुक्त देश घोषणा भइसकेकाले अब पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत देशैभरि सार्वजनिक शौचालयहरु निर्माण गर्नेगरी कार्य अघि बढाउन डा. गुरुङले जोड दिनुभयो ।
मन्त्रालयका सचिव माधव बेल्बासेले देशैभरिको खानेपानीको समस्या समाधान गर्न आयोजनाहरु अघि बढेपनि जनशक्तिको ठूलो अभावले समस्या आइरहेको बताउनुभयो । सचिव बेल्बासेले खानेपानीको क्षेत्रमा प्राविधिक जनशक्तिको अभावले आयोजनाहरुको काममा ढिलाइ भइरहेको समस्या औंल्याउनुभयो । त्यस्तै उहाँले मेलम्ची खानेपानी आयोजनाको काममा काम गर्ने वातावरण बनाइरहन सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभयो ।
समीक्षा बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अवधिमा भौतिक प्रगति ७६ र वित्तीय प्रगति २० प्रतिशत रहेको जानकारी विभागका महानिर्देशक सुनिलकुमार दासले दिनुभयो ।
खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत रहेको जानकारी महानिर्देशक दासले दिनुभयो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको बाँकी रहेको हेडवक्र्स निर्माण र सुरुङको फिनिसिङ कार्यको काम धमाधम अगाडि बढिरहेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने उद्देश्यले काम अगाडि बढिरहेको बताउँदै कार्यकारी निर्देशक खत्रीले भोलिका दिनमा काम गर्ने वातावरण नबिग्रने गरी अघि बढ्न सरकारका सबै निकायहरुबीच समन्वय जरुरी रहेको बताउनुभयो ।
मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले देशभरि नै आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित हुने जनसंख्या यही आर्थिक वर्षभित्र ९२ प्रतिशत पुग्ने जानकारी दिनुभयो । सहसचिव दुवाडीले उच्च मध्यमस्तरको खानेपानी सेवाबाट अहिलेसम्म २१ प्रतिशत जनसंख्या लाभान्वित भएकोमा यो संख्या बढेर २५ प्रतिशत पुग्ने उल्लेख गर्नुभयो ।
पहिलो चौमासिक अवधिमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको जानकारी गराइयो । बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले काठमाडौं उपत्यकामा जमिनमुनीको पानीको अवस्था के कस्तो छ भन्ने कुरा पत्ता लगाउन नयाँ प्रविधिको मद्दतले काम अगाडि बढाइएको बताउनुभयो ।
समीक्षा बैठकमा पहिलो चौमासिक अवधिमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत रहेको जानकारी कार्यकारी निर्देशक चोकप्रसाद धितालले गराउनुभयो । यो अवधिमा ग्रामीणस्तरमा ३५ वटा खानेपानी आयोजना सम्पन्न भएको उहाँको भनाइ छ ।