रुसले क्षेप्यास्त्र प्रहार गर्दै युक्रेनमाथि आक्रमण थाल्यो

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ११ : ०३


किभ। रुसले युक्रेनविरुद्ध आक्रमण थालेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टि गरेका छन्।

उनले समाचार संस्था रोयटर्ससँग रुसले क्षेप्यास्त्र प्रहार गर्दै आक्रमण सुरुवात गरेको बताएका हुन्।

यसबीचमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा सैन्य कानुन लागू गर्ने विषयमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएको बीबीसीले जनाएको छ।

यस्तै सीएनएनसँगको कुराकानीमा युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले पूर्ण रुपमा युक्रेनमा आक्रमण गर्न सुरु गरेको बताएका छन्।

खबरअनुसार राजधानी किभ र पूर्वी युक्रेनका डोनेट्स क्षेत्रमा मिसाइल आक्रमण भएका छन्।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनमा आक्रमण गर्न आदेश दिएपछि त्यहाँ आक्रमण सुरु भएको जानकारी आएको हो।

स्वतन्त्र राज्य घोषणा गरेको क्षेत्रबाट युक्रेनी सेनाले हतियार बिसाएर आत्मसमर्पण गर्दै घर फर्किनुपर्ने पुटिनको चेतावनी छ।

यदी त्यसो नभएको खण्डमा त्यहाँ रक्तपात हुने पुटिनको भनाइ छ। युद्ध निम्तिए त्यसमा युक्रेन नै जिम्मेवार हुनुपर्ने पनि रुसको भनाइ छ। यद्यपी पुटिनले युक्रेन कब्जा गर्ने आफ्नो उद्देश्य भने नभएको जनाएका छन्।

पुटिनका अनुसार आफूहरुले चालेका हरेक पाइला रुसको आत्मरक्षा कदम हो।

युक्रेनले भने रुसी सेना आफ्नो भूमिमा प्रवेश गर्ने प्रतिकार गर्ने बताएको छ। युद्धको अवस्था निम्तिएको समयमा युक्रेनमा ३० दिनको लागि संकटकाल घोषणा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्