रुसको आक्रमणको घोषणपछि युक्रेनको राजधानीमै विस्फोटको आवाज

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १० : ०५


किभ। युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ।

नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको टु एयरमेन नोटमले जनाएको छ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ। युक्रेनी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन्।

तर, प्रमुख युक्रेनी विमानस्थलहरुमा आगमन र प्रस्थान निर्धारित समयअनुसार चलिरहेको बताइएको छ। यसैबीच, युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा बिस्फोटका आवाज सुनिएको बताइएको छ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनमा आक्रमण गर्न आदेश दिएपछि त्यहाँ आक्रमण सुरु भएको जानकारी आएको हो।

पूर्वी युक्रेनस्थित बिखन्डनकारीद्वारा नियन्त्रित क्षेत्र डानेट्स्क र लुहान्सकको बिचमा रहेको डोनबासमा आक्रमण गर्न आदेश दिएसँगै डानेट्स्क लगायतका क्षेत्रमा विस्फोटनको धमाका सुन्न थालिएको बीबीसीले जनाएको छ।

साेही क्रममा युक्रेनको राजधानी किभमै पनि विस्फोटन भएको हाे।

सोमबार राति पुटिनले पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य घोषणा गर्दै त्यहाँ रुसी सेना पठाउने निर्णय गरेका थिए।

युक्रेनले भने रुसी सेना आफ्नो भूमिमा प्रवेश गर्ने प्रतिकार गर्ने बताएको छ। युद्धको अवस्था निम्तिएको समयमा युक्रेनमा ३० दिनको लागि संकटकाल घोषणा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्