लडाकूले बिछ्याएको बारुदी सुरुङमा सवारी ठोक्किँदा १५ जनाको मृत्यु

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ८ : ४४


काबुल  । उत्तरी अफगानिस्तानमा तालिबान लडाकू समूहले बुधबार गरेको बारुदी सुरुङ आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी आठ बालबालिकासहित १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

स्थानीय समय अनुसार बुधबार अपराह्न ५ बजे तालिबान लडाकू समूहले बिछ्याएको बारुदी सुरुङमा सर्वसाधारणको सवारी साधन ठोक्किँदा १५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमले जानकारी दिनु भएको छ । 

ताजिकिस्तानसँग सीमा जोडिएको उत्तरी इलाकामा भएको यस आक्रमणमा परी ६ महिला, एक पुरुष र आठ बालबालिका मारिएको रहिमले बताउनुभयो । यस क्षेत्रमा तालिबानी लडाकू समूह र अमेरिकाको समर्थन रहेको अफगान सुरक्षाबलबीच नियमित झैं झडप हुने गरेको छ । 

तालिबान लडाकूहरुले सेप्टेम्बरको शुरुमा प्रान्तीय राजधानी कुन्दुजमा पनि आक्रमण गरेका थिए, तर कब्जा गर्न सकेनन् । यद्यपी तालिबानले सन् २०१५ को सेप्टेम्बरबाट केही भाग भने कब्जा गर्दै आएका छन् । 
 


प्रतिक्रिया दिनुहोस्