यूके भन्छ– युक्रेनमा रुसी हमला सुरु भइसक्यो

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १ : ४३


बीबीसी । युक्रेनमा रुसी आक्रमण सुरु भइसकेको भन्दै यूकेले रुसमाथि प्रतिबन्ध लगाउने स्वास्थ्यमन्त्री सजिद जावेदले बताएका छन्।

सरकारका विभिन्न निकायहरूको सहभागिता हुने आपत्कालीन कोब्रा बैठकपछि जावेदले स्काई न्यूजसँग भने, “तपाईँले युक्रेनमा आक्रमण सुरु भइसक्यो भन्ने निष्कर्ष निकाल्दा हुन्छ।”

उनले रुसले युक्रेनमा आफ्ना ट्याङ्क पठाएको दाबी गरेका छन्। टेन डाउनिङ स्ट्रीटमा भएको सो बैठकमा प्रधानमन्त्री बोरिस जोनसनले वरिष्ठ सुरक्षा अधिकारीहरू, विदेशमन्त्री, रक्षामन्त्री लगायतसँग रुसी कदमको समीक्षा गरेका थिए।

बैठकअघि प्रधानमन्त्रीका प्रवक्ताले बताएअनुसार आज अबेरसम्ममा उल्लेख्य सङ्ख्यामा प्रतिबन्ध घोषणा हुनसक्नेछ। अर्का एक मन्त्रीका अनुसार जोनसनले आज संसद्‌मा बोल्नेछन्।


प्रतिक्रिया दिनुहोस्