धरानको जङ्गलमा झोलामा भेटिएको शव झापाका दिपक सिग्देलको

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १२ : ३०


काठमाडौं । एक हप्ता अगाडि सुनसरीको धरान ४ स्थित जङ्गलमा भेटिएको शवको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय, धरानका अनुसार उक्त शव झापाको दमक ५ का ४३ वर्षीय दिपक सिग्देलको हो ।

प्रहरीका अनुसार सोमबार अबेर उनको पहिचान भएको हो । सिग्देलका परिवारले शवको सनाखत गरेका हुन् । सिग्देल भर्खरै वैदेशिक रोजगारीबाट आएका थिए । सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए ।

काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरीले बताएको छ । पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो । शव पहिचान भएसँगै अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ ।


प्रतिक्रिया दिनुहोस्