यूएईसँग खेल्दै नेपाल, दोस्रो पटक विश्वकपमा पुग्ला ?

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : २२


काठमाडौं । आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रो पटक विश्वकपमा पुग्ने लक्ष्यमा हुनेछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनल आएको हो ।

नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।

यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी–२० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो । कप्तान सन्दीप दुबै टोली एक अर्काविरुद्द जानकार रहेको र यूएईविरुद्द खेलाडी मानसिक रुपमा समेत तयारी भएको बताउछन् । फाइनल प्रवेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ ।


प्रतिक्रिया दिनुहोस्