चिनियाँ नौसेनाको जहाजले आफ्नो युद्धक विमानलाई लेजर तेर्स्याएको भन्दै अस्ट्रेलिया रुष्ट

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : ०६


सिड्नी। अस्ट्रेलियाका प्रधानमन्त्री चीनसँग रुष्ट बनेका छन्।

हालै चिनियाँ नौसेनाको जहाजले आफ्नो युद्धक विमानलाई लेजर हतियार तेर्स्याएको भन्दै प्रधानमन्त्री स्कट मरिसनले चीनसँग यस विषयमा पूर्ण अनुसन्धानको माग गरेका हुन्।

गत बिहीबार चिनियाँ नौसैनिक जहाज अस्ट्रेलियाको तट क्षेत्रसम्मै आइपुगेको उनको आरोप छ। सो क्रममा लेजर तेर्स्याएर चिनियाँ जहाजले उडिरहेको विमानतर्फ उज्यालो किरण फ्याँकेको र झन्डै विमान दुर्घटनाको अवस्थामा पुगेको उनले उल्लेख गरेका छन्।

लेजर हतियार आक्रमण भने नभएको बताइएको छ। चिनियाँ युद्धपोत अस्ट्रेलियाको भूमिबाट देखिएको मरिसनको भनाइ छ।

यद्यपी चीनले लेजर तेर्स्याएको विषयमा केही बताएको छैन। तर अस्ट्रेलियाको तट क्षेत्रसम्म पुगेको आरोपको भने चीनले खण्डन गरेको छ। आफूले अन्तर्राष्ट्रिय कानुनअनुसार नै त्यसवरपर जहाज चलाएको चिनियाँ भनाइ छ।

यद्यपी अस्ट्रेलियाले चिनियाा जहाज न्यु गिनिया र अस्ट्रेलियाबीचको अराफुरा समुद्रबाट तैरिएको बताएको छ।


प्रतिक्रिया दिनुहोस्