चर्को विरोधकाबीच संसद्‍मा टेबल भयो एमसिसी

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : १४


काठमाडौं । चर्को विरोधका बाबजुत अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभामा टेबुल भएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौता एमसीसी प्रस्तुत गरेका हुन।

आजै बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेको थियो।

लामो समयदेखि राजनीतिक दलहरुका बीचमा एमसिसी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने कि नगर्ने भन्ने बारेमा विवाद रहँदै आएको थियो।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता पेस गरे।

संसद्मा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति हुन नसक्दा संसद् सचिवालयमा दर्ता भए पनि सो सम्झौता संसद्मा टेबुल हुनसकेको थिएन। एमसिसी सम्झौतालाई टेबुल गर्न सत्ता साझेदार दलहरु आज मात्रै सहमतिमा पुगेका थिए।

एमसिसी सम्झौता संसद्मा टेबुल गर्न सत्ता गठबन्धनका दलहरुबीच सहमति भएपछि कार्यव्यवस्था समितिको बैठकले त्यसलाई अगाडि बढाउने निर्णय गरेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ माघ २५ गते सो अनुदान सम्झौता अनुमोदनका लागि संसद्मा पेश गर्न स्वीकृति दिएको थियो।

तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले एमसिसी सम्झौता संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न २०७६ असार ३० गते संसद्मा पेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस्