काठमाडौं । आईसीसी टी२० विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले जित हासिल गरेको हो ।
अल अमेरातमा भएको खेलमा ११८ रनको लक्ष्य पाएको ओमानले १७ ओभरमा सबै विकेट गुमाएर मात्र ७८ रन बनायो । ओमानका लागि नसिम खुशीले २४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन । नेपालका कमलसिंह ऐरीले ३ विकेट लिए भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले ३७ बलमा ३८ रन बनाए । कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाउँदा लोकेश बमले १६ तथा ज्ञानेन्द्र मल्ले १५ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले ११ रन बनाए । ओमानका ख्वाँवर अलीले ३ तथा बिलाल खानले २ विकेट लिए भने कप्तान जिशन मक्शुद र फैज बटले १/१ विकेट लिए ।
नेपालले भोली फिलिपिन्ससँग दोस्रो खेल खेल्नेछ ।