१६४ दिनदेखि संसद बैठक अवरुद्ध

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : ३५


काठमाडौं । प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ ।

गत २३ गते भदौ गते संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।

एमालेले आफ्नो पार्टीबाट निष्काशित १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै उनीहरूले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएका हुन् । निष्काशित १४ सांसदलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने एमाले सांसदको चेतावनी छ ।

संसदको गतिरोध खुलाउन सभामुख सापकोटाले बोलाएको तीनवटा सर्वदलीय बैठकमा अनुपस्थित भएको एमालेले पार्टीबाट निष्काशित माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना जारी नगरेसम्म संसद अवरोध कायमै राख्ने बताएको छ ।

शुक्रबारको बैठकमा पनि उनीहरूको नाराबाजी चल्यो । आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्