काठमाडाैं । प्रहरीले नक्कली चेकमा नक्कली हस्ताक्षर गरेर अर्काका नाममा रहेको बैंक खाताबाट रकम झिक्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल घर भई कालमाटी बस्ने १९ वर्षका सुभाष श्रेष्ठ, सोही ठाउँका १९ वर्षकै कुमार तामाङ, १८ वर्षका मनीष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोट घर भई हाल बुद्धनगर बस्ने २५ वर्षका सुमन पौडेल र सिन्धुपाल्चोकको ज्यामिरे घर भई काठमाडौंको सुविधानगर बस्ने ३० वर्षका गोविन्द घिमिरे रहेका छन् ।
जनता बैंकका खातावाल गोपालमान राजबाहाकले आफ्नो खाताबाट पैसा झिकिएको सूचना मोबाइलमा आएपछि प्रहरीलाई खबर गरेका थिए । आफूले कसैलाई चेकबुक पनि नदिएको र आफूले पनि पैसा नझिक्दा पनि आफ्नो खाताबाट पैसा झिकिएको सूचना आएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
यही सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले राजबाहाकको नाममा जनता बैंकको कुनै पनि शाखाबाट पैसा झिक्न कोही आए प्रहरीलाई खबर गर्न अनुरोध गरेको थियो । नभन्दै उनको नामको चेक लिएर न्युरोड शाखामा पैसा झिक्न एक व्यक्ति आएको खबर प्रहरीलाई भएपछि प्रहरीले चेक बोकेका व्यक्तिलाई बैंक शाखाबाटै नियन्त्रणमा लियो ।
उनीसँगको सोधपुछपछि प्रहरीले अन्य पाँचजना पनि उक्त प्रकरणमा संलग्न भएको सार्वजनिक भएको हो । यस कार्यमा बैंकका कर्मचारीको समेत मिलोमतो हुन सक्ने भन्दै प्रहरीले सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।