मोदीको निशानामा चिनियाँ कम्पनीहरु, आज भारतस्थित हुवावेको कार्यालयमा छापा

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : ४१


दिल्ली। भारतीय आयकर विभागले कर छलीको आरोपमा चिनियाँ कम्पनी हुवावेको दुई कार्यालयमा आज छापा मारेको छ।

दिल्लीको गुरुग्राम र बैगलौरमा रहेको कार्यालयमा आयकर विभागले छापा मारेको हो।

समाचार एजेन्सी एएनआईका अनुसार कर छली गरेको अभियोगमा हुवावेको कार्यालयमा छापा मारिएको हो। खबरअनुसार आयकर विभागले हुवावेको वित्तीय दस्तावेज, लेनदेन तथा लेखा सम्बन्धी कागजातहरु अनुसन्धान गरिरहेको छ।

आयकर विभागले यसअघि पनि चिनियाँ कम्पनी साओमी र ओप्पोजस्ता मोबाइल निर्माता कम्पनीमा छापा मारेको थियो। त्यसबेला आयकर विभागले भारतीय कानुन तोड्दै ती कम्पनीहरुले ६ हजार ६ सय करोड रुपियाँभन्दा बढी कमाई गरेको आरोप लगाएको थियो।

हालै भारतको सरकारले ५० भन्दा बढी चिनियाँ एप्सहरुमा प्रतिबन्ध लगाएको थियो। सन् २०२० मा गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो।

झडपमा २० भारतीय सेना र ५ चिनियाँ सेनाको मृत्यु भएयता भारतमा मोदी सरकार चिनियाँ कम्पनीमाथि कडा रुपमा प्रस्तुत हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्