नेटो–युक्रेन र रुस संकटबारे बुझ्नै पर्ने पाँच मुख्य कुराहरु…

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : १६


काठमाडौं। पश्चिमा राष्ट्र र रुसबीच युक्रेनको विषयमा जारी विवादको केन्द्रमा ट्रान्सएटलान्टिक सुरक्षा गठबन्धन ‘नेटो’को भविष्य यतिबेला अल्झिएको छ।

मस्को पूर्व सोभियतकालिन राज्य युक्रेन नेटोमा सँधैको लागि प्रतिबन्धित हुनुपर्छ भन्ने पक्षमा छ। उ पश्चिमा राष्ट्रबाट यसको ग्यारेन्टी चाहन्छ। रुसले क्षेत्रीय सुरक्षामा चुनौती थपिएकाले पूर्वी युरोपबाट सबै सैन्य गतिविधि नेटोले बन्द गर्नुपर्ने माग पनि गरिरहेको छ।

तर पश्चिमा राष्ट्रहरुले रुसी मागलाई खारेज गरिरहेको छ। पश्चिमा राष्ट्रका प्रमुखहरु यो भनिरहेका छन् कि युक्रेनको विदेशी नीतिको विषयमा रुसले दबाब दिन सक्दैन। नेटोको खुला नीति अन्तर्गत कुनै पनि युरापेली राष्ट्रलाई सो समूहमा आवद्ध हुन अधिकार भएको पश्चिमा राष्ट्रको तर्क छ।

नेटो–युक्रेन र रुस संकटबारे बुझ्नै पर्ने पाँच मुख्य कुराहरु…

१. नेटो के हो र यो किन स्थापना भयो?
दोस्रो विश्वयुद्धको अन्त्यसँगै नेटो सन् १९४९ मा स्थापना भएको थियो। यो गठबन्धन प्रारम्भमा तत्कालीन सोभियत संघ ‘युएसएसआर’ को कुनै पनि विस्तारलाई रोक्न र महादेशमा द्वन्द्वको सम्भावनालाई कम गर्नका लागि अमेरिका र यसका युरोपेली सहयोगीहरूद्वारा गरिएको प्रयासको एक हिस्सा थियो।

त्यसपछिका दशकहरूमा यसले निरन्तर रूपमा आफ्नो समूह विस्तार गरेको छ। सोभियत संघको पतनपछि यसले मध्य र पूर्वी युरोपेली राज्यहरूलाई आफ्नो श्रेणीमा ल्याएको छ।

यो विस्तारले मस्कोलाई समस्यामा पारेको छ। यतिबेला त झन् यो गठबन्धनले सीमा नजिकै सोभियतकालिन राज्य युक्रेनलाई आफ्नो समूहमा जोड्न चाहिरहेको छ।

२. नेटोका सदस्य राष्ट्र को–को हुन्?
नेटोमा हालसम्म ३० सदस्य राष्ट्रहरु छन्। बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटाली, लक्जेमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, बेलायत र अमेरिका नेटोका संस्थापक सदस्यहरू हुन्।

नेटोको सबैभन्दा कान्छा राष्ट्र नर्थ मेसेडोनिया हो जो सन् २०२० मा यसको सदस्य भएको हो। युक्रेन, बोस्निया, हर्जेगोभिना र जोर्जिया चाहीँ नेटोका सहयोगी राष्ट्रहरु हुन्। यिनीहरुले नेटोको सदस्य बन्ने घोषणा गरिसकेका छन्।

नेटोको उद्देश्य राजनीतिक र सैन्य माध्यमबाट आफ्ना सदस्यहरूको स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी गर्नु रहेको छ।

३. युक्रेन नेटोमा किन आवद्ध हुन चाहन्छ?
युक्रेनले बारम्बार आफू नेटोको सदस्य राष्ट्र बन्ने चाहना व्यक्त गर्दै आएको छ। नेटोमा आवद्ध हुने विषय युक्रेनको संविधानमा नै लेखिएको छ।

नेटो गठबन्धनमा सामेल भएको खण्डमा युक्रेनको रक्षात्मक शक्ति बढ्नेछ, किनभने नेटोको सिद्धान्त सामूहिक रक्षा हो। नेटोको स्थापना सन्धिको धारा ५ मा यसो भनिएको छः सहयोगी राष्ट्रविरुद्धको आक्रमण सबै सहयोगीहरू विरुद्धको आक्रमण हो। त्यसकारण सबै सदस्य राष्ट्र एकअर्काको रक्षा गर्न प्रतिबद्ध हुनुपर्छ।

४. के नेटोले युक्रेनलाई समर्थन गर्छ?
सन् २००८ मा नेटोका नेताहरुले युक्रेनलाई गठबन्धनमा समावेश हुने मौका दिने वाचा गरेका थिए। तर पछिल्ला वर्षहरूमा गहिरो सहयोगको बावजुद पनि युक्रेनलाई नेटोमा समावेश गराउने सम्भावना कमै देखिएको छ।

युक्रेनले भ्रष्टाचार उन्मूलन गर्न र गठबन्धनमा प्रवेश गर्न आवश्यक अन्य राजनीतिक, आर्थिक र सैन्य मापदण्डहरू पूरा गर्न पर्याप्त काम गरेकोमा पश्चिमा शक्तिहरू विश्वस्त हुन बाँकी छ।

नेटोका सदस्यहरू युक्रेनलाई उनीहरूको पङ्क्तिमा सामेल हुनदेखि सावधान हुन सक्छन् किनभने अहिले युक्रेन र रुसबीचको तनाव उच्च छ। यदी हतारमा युक्रेनलाई सदस्य बनाइए यस्तो कदमले सामूहिक रक्षा सिद्धान्तको कारणले पनि गठबन्धनलाई रूससँग प्रत्यक्ष द्वन्द्वमा ल्याउन सक्छ।

सोमबार मात्र जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेका थिए। जेलेन्स्कीले आफ्नो देशको सदस्यताको महत्वाकांक्षा पुनरावृत्ति गरेतापनि स्कोल्जले युक्रेनलाई नेटोमा आवद्ध गराउने विषय आफ्नो एजेन्डामा नभएको बताएका थिए।

सबै ३० नेटोका सदस्यले युक्रेनलाई नेटो सदस्य बनाउन सर्वसम्मतिले अनुमोदन गर्नुपर्छ।

५. रुस र नेटोबीचको लफडा के हो?
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अब नेटोको विस्तारको लहरलाई उल्टाउने र युक्रेनलाई कहिल्यै सदस्य बन्न नदिने ग्यारेन्टी गर्ने समय आएको बताएका छन्।

शीतयुद्धको अन्त्यमा नेटोले पूर्वतर्फ विस्तारका गतिविधि नगर्ने मौखिक प्रतिबद्धताहरू तोडेर रुसलाई धोका दिएको उनको आरोप छ। यद्यपी नेटो गठबन्धनले त्यस्ता कुनै पनि वाचा गरिएको कुरालाई अस्वीकार गर्दछ।

यसबीचमा रुसले युक्रेनसँगको सीमा क्षेत्रमा एक लाखभन्दा बढी सेनाहरु तैनाथ गरेको छ। उसले अमेरिका र नेटोसँग आफू असुरक्षित रहेको बताउँदै व्यापक सुरक्षा मागहरू पठाएको छ।

जवाफमा नेटो, अमेरिका र उसका युरोपेली सहयोगीहरूले मस्कोसँग वार्ता गर्न र युद्धको स्थितिलाई कम गर्न खोजिरहेका छन्।

तर उच्च कूटनीतिक प्रयासहरूले थोरै मात्र सफलता पाएका छन्। अमेरिका र नेटोले रुसको केन्द्रीय मागहरू अस्वीकार गरेका छन्। रुसको मुख्य माग भनेको युक्रेनलाई सँधैको लागि नेटो सदस्य हुन दिनु हुँदैन, त्यस्तै पूर्वी युरोपबाट नेटोका सैन्य गतिविधि बन्द हुनुपर्छ।

पश्चिमा राष्ट्रले रुसी माग खारेज गर्दा रुसले आफ्नो माग राख्न छाडेको छैन।

तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेन लगायत पश्चिमी नेताहरूले रूसी आक्रमण भइहाले पनि युक्रेनको रक्षा गर्न सेना नपठाउने स्पष्ट पारेका छन्।

तर जर्मनी बाहेकका युक्रेनका धेरै सहयोगीहरूले हतियारहरू भने किभ पठाइरहेका छन्। (अल्जाजिराको सहयोगमा)

 


प्रतिक्रिया दिनुहोस्