काठमाडौं। रुस र युक्रेनबीचको विवाद चरम उत्कर्षमा पुगिसकेको छ।
अमेरिकाले जुनसुकै बेला पनि रुसले युक्रेनमा आक्रमण गर्ने चेतावनी दिइरहँदा युक्रेनका राष्ट्रपतिले पनि भोलि बुधबार रुसले युक्रेनमा आक्रमण गर्नसक्ने सम्भावना रहेको बताएका छन्।
हालसम्म रुसले युक्रेनसँगको सीमामा १ लाख ३० हजार सेनाहरु तैनाथ गरेको खबरहरु आएका छन्। यसबीचमा आज रुसले सीमा क्षेत्रमा थप ३० हजार सेनाहरु तैनाथ गरेको रुसी समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ।
बेलारुसमा हालै ३० हजार सेनाले त्यहाँका सेनासँग संयुक्त युद्ध अभ्यास गरेका थिए। ती सेनाहरु नै सीमा क्षेत्रमा बेसमा फर्किएको जनाइएको छ।
समाचारमा बताइएअनुसार युद्ध अभ्यास रुसका सेनाले जारी राख्नेछन्।
युक्रेनमा आक्रमण गर्ने आरोपहरु लागिरहँदा रुसले भने आफूले युक्रेनमा हमला नगर्ने दोहोर्याउँदै आएको छ। खतरा बढेकाले आफ्नो देशको सुरक्षा गर्न मात्र त्यहाँ सेना तैनाथ गरेको रुसी भनाइ छ।
यद्यपी अप्रत्याशित रुपमा रुसले सेना र हतियार बढाउनुलाई आक्रमणको तयारीको रुपमा हेरिएको छ। यसअघि रुसले सन् २०१४ मा युक्रेनी क्षेत्र क्रिमिया आफूमा गाभेको घटनाले पनि रुसले आक्रमण गर्ने आशंका बढेको हो।
वास्तवमा रुस यो चाहँदैन कि युक्रेन अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नेटोमा आवद्ध होस्। रुसले युक्रेनको दक्षिणी हिस्सा क्राइमिया कब्जा गरेको आठ वर्षपछि यो नयाँ संकट देखिएको हो।
युुक्रेनको पूर्वी हिस्सामा रुसको समर्थन प्राप्त विद्रोहीहरुको वर्चस्व छ। सन् २०१४ यता त्यहाँ १४ हजारको ज्यान गइसकेको छ।
सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन। बीबीसी र एजेन्सीको सहयोगमा