आम मानिसले कहिले चढ्न पाउँछन् धरहरा? इन्जिनियर नै अन्यौलमा

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ४ : ३५


रमेश पौडेल

काठमाडौं। देशका विभिन्न ठाउँबाट राजधानी काठमाडौं आउने अधिकाँसको चाहाना हुन्छ धरहरा चढेर उपत्यकाको रमणीय दृष्य हेर्ने। तर सर्वसाधारणको यो चाहना केही वर्षयता पुरा हुन सकेको छैन।

वि.सं २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले नेपालको ऐतिहासिक धरोहर धरहरा भत्काएपछि मानिसहरुले धरहरा चढ्ने रहर पुरा गर्न नपाएका हुन्।

यो पुनर्निर्माण हुन नै छ वर्ष लाग्यो। सुरुका केही वर्षहरुमा त यो सरकारको एजेन्डा मात्र बन्यो तर ६ वर्षपछि धरहरा ठडिएको त छ यद्यपी यो पुरै नबनेकाले यहाँ चढ्न सर्वसाधारणले पाउँदैनन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको धरहरा अहिले २२ तले छ। वि.सं २०७८ वैशाख ११ मा तत्कालीन प्रधानमन्त्री केपी वलिले धुमधामका साथ उत्घाटन गरे। त्यो उत्घाटन देश तथा विदेशभर चर्चाको विषय बन्यो। अधिकांस नेपालीलाई लागेको थियो कि अब त्यो धरहरा चढ्न पाइन्छ।

तर १० महिना बित्दा पनि मानिसहरुले धरहरा चढ्न पाएका छैनन्।

धरहरा चढ्न चाहन्छन् मानिसहरु
धरहराको विषयमा बुझ्न म आज सोमबार बिहान ११ बजेतिर सुन्धारा पुगेको थिए। त्यहाँ मैले नयाँ धरहराबारे मानिसहरुको रोचक मनोभावनाहरु बुझ्न पाए।

मैले नाम त सोध्न पाइँन तर वर्णले राई–लिम्बु जस्ता देखिने एक युवाले सुन्धारामा खटिएका ट्राफिक प्रहरीलाई सोध्दै थिए,‘सर यो धरहरा भित्र जाने बाटो कता हो? सबैतिर छेकेको छ त किन हो? ट्राफिक प्रहरीले मुसुमुसु हाँस्दै ती व्यक्तिलाई सम्झाउँदै थिए,‘अहिले धरहरा चढ्न पाइँदैन नि भाई।’ ती युवाले प्रतिपश्न गरे किन? ट्राफिकले भने,‘अहिले बनि सकेकै छैन्। ती व्यक्तिले अचम्म पर्दै भने,‘लौ हैन अनि अस्ति नै बनिसकेर उद्घाटन गरेको हैन पधानमन्त्रीले? नबनि पनि बनेको भनेर उद्घाटन हुन्छ र?

No description available.

ट्राफिकले खै भात्र भनेपछि उनी त्यहाँबाट आफ्नो सुरमा हानिए। मेरो मनमा ती युवाको प्रश्न खेल्यो। वास्तमा ती युवाका प्रश्न जायज थियो। मेरो मनमा पनि यस्तै प्रश्न बेलाबेला खेलिरहन्छ। धरहरा चढ्न नपाउँदा मलाई पनि पूर्व प्रधानमन्त्री ओलीले ढाँटेको महसुस हुन्छ।

मलाई अन्य मानिसहरुसँग पनि धरहराबारे कुरा गर्न मन लाग्यो। महोत्तरी घर भएका सन्तोष महरा पनि धरहरा नै हेर्दै थिए।

उनलाई मैले धरहरा चढ्न आउनु भएको हो? भन्दै प्रश्न गरे। उनले उत्तरमा भने,‘यो धरहरा चढ्न त मन लाग्छ तर पाइन्दैँन के गर्नु? यसरी नै हेर्यो अनि फर्कियो।’ धरहरा उद्घाटन गरेको भन्ने अनि चढ्न चाहीँ नपाइने विषयमा उनी राजनीतिज्ञहरुसँग रुष्ट देखिन्थे।

यस्तै निर्माण भइरहेको धरहरा अगाडि एक व्यक्ति आफ्ना ८ वर्षका छोरासँग सेल्फी खिच्दै थिए।

उनी पनौतीका कृष्ण बहादुर तामाङ रहेछन्। उनलाई पनि हामीले पहिलेकै प्रश्न दोहोर्यार्यौं। उनले छोराले रहर गर्दा मात्र धरहरा आएको बताए। उनले हामी अगाडि नै धरहराका चौकिदारलाई सोधेका थिए कि धरहरामा चढ्न पाइन्छ। उनका अनुसार ती व्यक्तिले अहिले चढ्न पाइँदैन भनेका थिए।

सो क्षेत्रमा एक भारतीय पर्यटकलाई पनि मैले भेट्ने मौका पाए। प्रविन कुमार नाम रहेका उनी धरहरालाई शिरमा राखेर सेल्फी खिच्दै थिए। उनी भन्छन्,‘नेपाल धेरै राम्रो छ। मैले पलिहे पनि धरहरा चढेको छु र अहिले मलाई यो धरहरा चढ्न मन लागेको छ। तर अहिले पाइँदैन रहेछ। अर्को चोटि जब काठमाडौं आउँछु पक्का धरहरा चडेर मात्र जान्छु।’

No description available.

अन्यौलमा इन्जिनियर
त्यसपछि म धरहरा भित्र काम गर्ने कामदार र इन्जिनियरसँग पछिल्लो अवस्थाबारे बुझ्न गए। मेरो सोझो प्रश्न थियो धरहरा चढ्न कहिले पाइन्छ?

उत्तरमा डकुमेन्ट इन्जिनियर मोहन श्रेष्ठले यसो भने,‘सम्झौता अनुसार त हामीले यहि चैतमा कामसक्नु पर्ने हो तर भनेकै समयमा काम सक्ने अवस्था छैन। केही समय फेरि थप होला जस्तो छ। धरहरा यहीबेला सर्वसाधारणको लागि खुला हुन्छ भनेर भन्न चाहीँ सकिँदैन।’

उनका अनुसार धरहरा मात्र हालसम्म पूर्ण रुपमा बनेको छ। यसबाहेकका संग्राहलय, पार्किङ क्षेत्र, क्याफेजस्ता क्षेत्रहरु निर्माणकै क्रममा छन्।

पृष्ठभूमि
भुकम्पअघि पाँच रोपनी जग्गामा रहेको धरहरा वरिपरिको क्षेत्रफल नवनिर्माणका क्रममा ४४ रोपनीमा फैलिनेछ। वि.सं. १९९० भन्दा पहिला यसमा ११ तल्ला थियो यसको बार्दली नवौ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथीको १० र ११ तला भत्किएको थियो र ९ तल्लाको रहेको थियो।

धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए। थापाले धरहरा निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका थिए।

थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो।

No description available.


प्रतिक्रिया दिनुहोस्