मुस्लिम धर्मको अपमान गरेको भन्दै एक व्यक्तिमाथि भीड जाइलाग्दा कुटाई खाने व्यक्तिको मृत्यु

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ३ : २४


पञ्जाब। पाकिस्तानमा मुस्लिम धर्मको अपमान गरेको भन्दै एक व्यक्तिमाथि भीडमा आएका व्यक्तिहरुले कुटपिट गरेका छन्।

अल्जाजिराका अनुसार पञ्जाब प्रान्तमा एक मानसिक अवस्था बिग्रिएका व्यक्तिले मुस्लिम धर्मग्रन्थ ‘कुरान’ जलाएका थिए। यही विषयमा भीडले केही नसोची उनीमाथि आक्रमण गर्दा उनको मृत्यु भएको हो।

हालै शनिबार साँझ खनेवाल जिल्लामा ती व्यक्तिको भीडको आक्रमणबाट मृत्यु भएको हो।

प्रहरी घटनास्थलमा पुग्दा मोहम्मद मुस्ताग नाम गरेका ती व्यक्तिलाई रुखमा बाँधिएको थियो। अचेत उनको अस्पतालमा मृत्यु भएको हो।

स्थानीय प्रहरी अधिकृत मुनावार हुसेनका अनुसार गाउँलेहरुले जम्मा भएर उनको हत्या गरेका हुन्। मानसिक स्वास्थ्य राम्रो नभएका व्यक्तिमाथि यसरी आक्रमण हुनु अपराध भएको प्रहरीको भनाइ छ।

यो घटनाको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि निन्दा गरेका छन्। यस्तै मानवअधिकार मन्त्री सिरिन मजारीले घटनाको भत्सर्ना गर्दै घटनामा संलग्न पक्राउ गर्न निर्देशन दिएका छन्।

हत्यामा प्रत्यक्ष रुपमा संलग्न १५ जना अहिलेसम्म पक्राउ परिसकेको बताइएको छ। पाकिस्तान मुस्लिम बाहुल देश हो। यहाँ हिन्दु समुदाय पनि बेलाबेला मुस्लिम समुदायबाट प्रताडित बनिरहन्छन्।


प्रतिक्रिया दिनुहोस्