काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपतिको ढुकुटीबाट निकाली औँसीका दिन बिहान सार्वजनिक प्रदर्शन गरिने नागमणि र एकमुखे रुद्राक्ष थन्क्याइएको छ।
दुर्लभ मानिने नागमणि र एकमुखे रुद्राक्षको दर्शन गर्नु शुभ मानिन्छ । पशुपतिको ढुकुटीमा रहेको नागमणि र एकमुखे रुद्राक्ष प्रत्येक वर्ष बालाचतुर्दशीको अघिल्लो दिन निकालिन्छ । बालाचतुर्दशीका दिन भगवान् शिवजीको निकटमा राखी भोलिपल्ट बिहान सार्वजनिक रूपमा प्रदर्शन गर्ने गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो।
नागमणि र एकमुखे रुद्राक्षलाई भगवान् शिवको प्रतीक मानिन्छ । पशुपतिमा सयौँ वर्षअघि देखि दुवै बहुमूल्य सामग्री सुरक्षित राखिएको छ । दुवैको दर्शन गर्नाले लाभ हुने र रोकिएको काम बन्ने धार्मिक विश्वास छ ।
यसै विश्वासका आधारमा आज हजारौँ भक्तजनले दर्शन गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो । मध्याह्नसम्म नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन गरी दिउँसो ढुकुटीमा राखिएको हो।