सुरक्षा खतरा बढेको भन्दै भारतले फ्रि–फायरसहित ५४ चिनियाँ एप्समा लगायो प्रतिबन्ध

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १ : ४२


दिल्ली। भारत सरकारले पुनः ५४ चिनिया एप्समा प्रतिबन्ध लगाएको छ।

भारतले पहिलेजस्तै चीनबाट सुरक्षा खतरा बढेकाले पछिल्लो कदम चाल्नु परेको बताएको छ।

बीबीसीहिन्दीका अनुसार भारतीय प्रविधि मन्त्रालयले एक बयान जारी गर्दै भनेको छ,‘यी ५४ चिनियाँ एप्सले प्रयोगकर्ताको संवेदनशील डेटा संकलन गर्छन्। यसरी संकलित डेटा विरोधी देशस्थित सर्भरमा पठाउने गरेको पाइएको छ।’

यी एप्सहरुमा स्वीट सेल्फी एचडी, ब्युटी क्यामेरा–सेल्फी क्यामेरा, फ्रि फायर, भाइभा भिडिओ एडिटर, टेनसेन्ट एक्सरिवर, ओनमायोजी एरिनाजस्ता एप्स सामिल छन्। अब यी एप्सहरु एपस्टोर र वेबस्टोरमा नदेखिने बताइएको छ।

सन् २०२० मा भारत र चीनका सेनाबीच सीमामा टकराव बढेपछि भारतले लगत्तै ५० भन्दा बढी एप्समा प्रतिबन्ध लगाएको थियो। त्यसमा टिकटक र पब्जी पनि परेका थिए।

त्यसयता भारतले चीनका ३२१ एप्समा प्रतिबन्ध लगाएको छ। ती एप्सहरुको मद्दतमा चीनले अन्य देशको निगरानी गरेको हुनसक्ने अनुमान पनि गरिएको छ।


प्रतिक्रिया दिनुहोस्