श्रीमानसँग चुनावमा भिडेका शेर्पाइली श्रीमतीलाई सघाउन नेकपामा

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १० : २३


काठमाडौं । संविधानसभा निर्वाचन २०७० मा दाङ– ५ मा भिड्नुभएको थियो, कांग्रेसका दीपक गिरी, एमालेका उत्तरकुमार वली र एकीकृत माओवादीका धिरज शेर्पाइली । कांग्रेसका दीपक गिरीले बाजी मार्नुभयो भने वली र शेर्पाइली पछारिनु भयो ।

संविधानसभा निर्वाचन २०७० मा नेपाली कांग्रेसका नेता दीपक गिरीले १५ हजार ३ सय ५८ मत प्राप्त गरी विजय हासिल गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका उत्तरकुमार वलीले १० हजार ९ सय ६३ मत ल्याई दोस्रो स्थानमा सीमित रहनुभयो । त्यति नै बेला एकीकृत नेकपा माओवादीबाट उम्मेदवार बन्नुभएका धिरज शेर्पाइलीले ७ हजार ४ सय ५१ मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाउनु भएको थियो ।

तत्कालीन एनेकपा माओवादी विभाजित भयो । डा. बाबुराम भट्टराइको नेतृत्वमा विभाजित समूह नयाँ शक्ति पार्टीको रुपमा क्रियाशील भयो । संविधानसभा निर्वाचनमा उम्मेदवार बन्नुभएका शेर्पाइली पनि डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमै क्रियाशील हुन थाल्नुभयो ।

यतिबेला दाङ– ३ (ख)मा चुनावी ज्वरो ह्वात्तै बढेको छ । चार दिनपछि अर्थात मंसिर १४ गते हुने प्रदेशसभा उपनिर्वाचनको परिणाम आफ्नो भागमा पार्न सबै राजनीतिक दल टुप्पी कसेरै लागेका छन् । यद्यपि कडा टक्करचाहिँ कांग्रेसका उम्मेदवार केशव आचार्य र सत्तारुढ दल नेकपाकी उम्मेदवार विमला वलीबीचमा देखिएको छ । नेकपाकी उम्मेदवार विमला उनै स्व. उत्तरकुमार ओलीकी श्रीमती हुन् । 

दाङ–३ (ख)मा विजयकै सन्देश दिनेगरी हिजै नेपाली कांग्रेसले विशाल जनसभाको आयोजना गर्यो । आजै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले हापुरेमा विशाल जनसभाको आयोजना गरेको छ । र, यही मौकामा २०७० मा आफूसँग चुनावमा भिडेका उनै उत्तरकुमार वलीकी श्रीमती विमला वलीलाई विजयी बनाउन धिरज शेर्पाइली आजै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । संघीय समाजवादी पार्टीको केन्द्रीय परिषद् सदस्य रहनुभएका शेर्पाइली चुनावभन्दा ४ दिनअघि मात्रै नेकपा प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश गर्दै शेर्पाइलीले श्रमजीवी जनताको मुक्ति कम्युनिष्ट पार्टीबाट मात्रै सम्भव भएको भन्दै अब समृद्धिको बाटो हुँदै समाजवादमा पुग्नका लागि उपयुक्त पार्टी नेकपा नै भएकाले पुनः आफू यो पार्टीमा फर्केको बताउनुभयो । विजयको सन्देश दिनेगरी आयोजित विशाल जनसभा यतिबेला पनि चलिरहेको छ ।


 


प्रतिक्रिया दिनुहोस्