काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जानकारी दिएको छ । प्रेस विज्ञप्तिमार्फत अस्पतालले उक्त जानकारी दिएको हो ।
कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली आज बिहान ९ बजे अस्पतालमा पुग्नुभएको र विज्ञ चिकित्सक सम्मिलित टोलीले परीक्षण गर्दा एपेण्डिसाइटिससहितको पेटको संक्रमण देखिएको उल्लेख छ । त्यसपछि उहाँको शल्यक्रिया गरी सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमा उल्लेख छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालले जनाएको छ ।