कपिलवस्तु । चुनाव हुन चार दिन बाँकी रहँदा उम्मेदवारहरू अहिले मतदाताको घरघरमा छन । मंसिर १४ गते हुने उपनिर्वाचनमा कपिलवस्तु जिल्लामा एक मात्र वडा अध्यक्ष पदको लागि चुनाव हुनेछ । शिवराज नगरपालिका १० का वडा अध्यक्ष शकुन्तला भारतीको निधन भएपछि यहाँ चुनाव हुन लागेको हो । अहिले चुनाव हुने वडा लालपुरमा चुनावी रौनक छाएको छ । राजनीतिक दल तथा उम्मेदवार मतदाता फकाउन व्यस्त रहेका छन् ।
लालपुरमा चार जनाको कडा प्रतिष्पर्धा हुने देखिएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार अदालत मनिहार चुनावी मैदानमा उत्रिएका छन् । उनी दैनिकजसो वडावासीहरूको घरघरमा पुगेर भोट माग्ने गर्दछन् । यतिमात्र होइन चुनाव जित्न विभिन्न आश्वासन समेत दिने गरेका छन् । पूर्व माओवादी रहेका मनिहारलाई लालपुरमा रहेका मुस्लिम समुदायको भोट आउने पूर्ण विश्वासमा छन् । उनी लालपुरमा चुनाव जित्ने नेताका रूपमा देखा परेका छन् ।
नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज भारती हुन । उनी १६ वर्ष लण्डन बसेर नेपाल फर्किएका हुन । अहिले पनि उनका परिवार भने लण्डनमै रहेका छन् । देवराज पूर्व वडाध्यक्ष शकुन्तलाका छोरा हुन । स्थानीय स्तरमा लालपुर बाबा नामबाट परिचित उनी प्रदेश सभामा समेत उम्मेदवार बनेका थिए । राप्रपामा रहेका भारती अहिले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका हुन । विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय लगायतलाई सहयोग गरेका उनले चुनाव जित्ने दावी गरेका छन् । त्यस्तै राजपाका केन्द्रीय सचिव रविदत्त मिश्रको को निवास पनि सोही वडामा पर्दछ । मिश्रले श्रीमती मन्जु मिश्रलाई उम्मेदवार बनाएका छन् । गत निर्वाचनमा प्रदेश सभामा उम्मेदवार रहेका रविदत्त झिनो मतान्तरले पराजित भएका थिए । अहिले उनी श्रीमतीको लागि भोट माग्न गाउँ गाउँमा पुगेका छन । मतदातालाई विकासका योजना सहित मिश्र मतदातालाई भेट गर्न व्यस्त छन् ।
त्यस्तै समाजवादी पार्टी नेपालका उम्मेदवार तीर्थ बहादुर रायमाझी गत निर्वाचनमा नेपाली काङ्ग्रेसको उम्मेदवार थिए । झिनो मतान्तरले पराजित भएका रायमाझी बलियो प्रतिस्पर्धीको रुपमा रहेका छन् । सिके राउत समुहका उम्मेदवार पनि यस वडामा रहेका छन । जनमत पार्टीका मोहमद गद्दीले उम्मेदवारलाई भेटेर भोट मागिरहेका छन । विकासे कामलाई उम्मेदवारले मुख्य केन्द्रमा राखेका छन् । कतिपय उम्मेदवार भने उम्मेदवारी दिएपनि अन्य उम्मेदवारलाई सहयोग गरेका छन ।