नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ– प्रचण्ड

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : ४४


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि रहेको बताएका छन् । आज फागुन १ गते २७ औं जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले संविधानसभामार्फत् नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणाली सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत नरहेको पनि बताएका छन् ।

‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ । नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२/६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै सक्दैन ।’ प्रचण्डले भने ।

प्रचण्डले छरिएर रहेका माओवादी घटकहरूलाई एकै ठाउँमा समेटिन आग्रह पनि गरेका छन् । ‘यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूणर् शक्तिहरूमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु’, सन्देशमा प्रचण्डले भनेका छन्, ‘छरिएर रहेका माओवादी घटकहरूलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात् गर्दै एकताबद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु ।’

उनले माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गरिरहेका सबै शक्तिलाई शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न अनुरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्