भारतमा विधानसभा चुनाव: बैतडी र दार्चुलाका सिमाना ४ दिनका लागि बन्द

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ३०


काठमाडौं । नेपाल–भारत सिमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन्। भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४९फागुन २ गते ० हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन्।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका पनि आजदेखि फागुन २ गतेसम्म बन्द भएका दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिको आधारमा नाका बन्द गरिएका हुन्। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।

गड्डाचौकी बन्द

भारतको उत्तराखण्ड राज्यको विधानसभाको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका गड्डाचौकी आजदेखि बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार आजदेखि फागुन २ गतेसम्मका सीमा नाका बन्द गरिएको छ।

निर्वाचनका लागि भारत सरकारको अनुरोधमा सीमा नाका बन्द गरिएको हो। भारतको उत्तराखण्ड राज्यमा विधानसभा निर्वाचनका लागि १४ फेब्रुअरीमा मतदान हुँदैछ। चुनाव अवधिभरी सीमा नाका पूर्ण रुपमा बन्द हुने जनाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्