भारतमा अदालतले नै भन्योः विद्यालयमा हिजाब प्रतिबन्ध गर्नुपर्छ, मुश्लिम नारी भन्छन्ः अन्याय भो

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १२ : ३४


कर्नाटक। भारतको कर्नाटक राज्यको एमजीएम कलेज कलेजमा हिजाब प्रतिबन्ध लगाइएको विषय यतिबेला विश्वभर चासोको विषय बनेको छ।

गत महिना भारतको कर्नाटक राज्यस्थित उडुपीमा रहेको एक कलेजमा हिजाब लगाएकै कारण केही मुस्लिम महिलालाई कक्षा कोठामा पस्न नदिएपछि हिजाब विवाद चुलिएको हो।

हिजाब मुस्लिम महिलाले आफ्नो शिर छोप्न प्रयोग गर्ने पहिरन हो। त्यसबीचमा भगवा सल ‘विशेषगरी भाजपाका कार्यकर्ताले लगाउँछन्’ लगाएर अन्य विद्यार्थीले पनि मुस्लिम महिलालाई हिजाब लगाएकै कारण कक्षामा छिर्न नदिएर उनीहरुको विरोध गरेपछि यो विषय विश्वभर चर्चामा आएको हो।

एमजीएम कलेजमा मात्र सुरुवातमा हिजाब प्रतिबन्ध लागेको थियो। जब त्यहाँ मुस्लिम महिलालाई कक्षामा छिर्न दिइइन् त्यसपछि अन्य कलेजहरुमा पनि सोही गतिविधि दोहोरिएको छ।

यसबीचमा मुस्लिम महिला विद्यार्थीहरुले आफ्नो धार्मिक आस्थालाई कुन्ठित गरेर कलेजहरुले आफ्नो अपमान गरेको र अध्ययन गर्न पाउनुपर्ने अधिकार खोसेको आरोप लगाउँदै प्रदर्शन जारी राखेका छन्।

राज्यव्यापी रुपमा प्रदर्शन जारी छ। यसबीचमा बिहीबार कर्नाटकको उच्च अदालतले नै विद्यालय तथा कलेजमा हिजाब प्रतिबन्ध गरिनुपर्ने अन्तरिम फैसला गरेको छ। यो विषयमा मुस्लिम समुदायले खेद प्रकट गर्दै यस कार्य न्यायोचित नभएको र सर्वोच्चमा जाने बताएका छन्।

उच्च अदालतको फैसलालाई चुनौती दिँदै मुस्लिम समुदायले सर्वोच्चमा रिट दायर गरेका छन्। यद्यपी सर्वाेच्चले हिजाब विवादमा तत्काल सुनुवाइ गर्न अस्वीकार गरिदिएको छ।

हिजाब लगाएकै कारण विद्यालयमा मुस्लिम महिलालाई कक्षामा छिर्न नदिएको विषयमा नोवल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले भारतीय कलेजहरुको निन्दा गरेकी छिन्। उनले यो कार्य अमानवीय भएको बताएकी छिन्।

पाकिस्तानको संसदमै भारतीय कलेजहरुको विरोध भएको छ। यस्तै अन्य मुस्लिम राष्ट्रहरुले पनि यो कार्यको विरोध जनाएका छन्। यसबीचमा बुधबार मात्र भारतीय जनता पार्टीकी सांसद हेमा मालिनीले कलेजहरुले हिजाब प्रतिबन्ध लगाएको विषयमा धारणा राखेकी थिइन्।

उनले भनेकी थिइन्,‘धार्मिक आस्था शैक्षिक संस्था बाहिर ठिक छ। विद्यालय तथा कलेजको आफ्नै पहिरन हुन्छ र त्यही लगाउनुपर्छ। धार्मिक आस्थालाई विद्यालय बाहिरै राखेको बेस्।’


प्रतिक्रिया दिनुहोस्