सुखद् सुरुआतको दाउमा नेपाल

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : ५४


काठमाडौं । आईसीसी टी-२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिता अघि आजबाट सुरु हुने चारदेशीय शृंखला खेल्दैछ ।

शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल सहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आरल्याण्ड सम्मिलित शृंखला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ ।

ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादब, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन् । यस शृंखलापछि नेपालले आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल सहित क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। नेपालले ६ फागुनमा आयोजक ओमान, ७ फागुनमा फिलिपिन्स र ९ फागुनमा क्यानडाविरुद्ध खेल्नेछ ।

दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, आसिफ शेख, अभिनाश बोहरा, जितेन्द्र मुखिया, शहाब अलाम, कमल सिंह ऐरी, विवेक यादव, प्रदिप ऐरी, लोकेश बम, सागर ढकाल


प्रतिक्रिया दिनुहोस्