चिप्लेढुङ्गा । कास्की क्षेत्र नं २ का नेकपाका उम्मेदवार विद्या भट्टराईलाई लामाचौरबासीले विजयको माला पहिर्याउने उद्घोष गरेका छन् । मंसिर १४ को उपनिर्वाचन नजिकिँदै गर्दा घरदैलोमा मतदाता भेटघाटलाई तीव्र बनाइरहनु भएकी भटटराईलाई स्थानीय मतदाताले सहयोग गरेर विजयको माला पहिर्याउने उद्घोष गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को किल्ला मानिने लामाचौर तथा बाटुलेचौरमा उहाँलाई स्थानीयले फूल, माला र अबिर लगाएर भव्य स्वागत गरेका थिए । पुष्पगुच्छा र मालाले स्वागत गर्दै
बाटुलेचौरबासीले विद्यालाई भने, ‘हरेक संकटमा हामीले नेकपालाई जिताएर पठाएका छौं । अहिले त झन योग्य महिला उम्मेदवार पाएका छौं । कुनै पनि हालतमा जिताउँछौं ।’ मतदाताहरुले रवीन्द्रले छाडेर गए पनि हातमा हात र काँधमा काँध मिलाएर साथ दिने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।
तल्लो द्वीपबाट शुरु भएको नेकपा उम्मेदवार विद्याको घरदैलो सुन्दर फिड हुँदै लामाचौर बाटुलेचौर पूरै घुम्ने कार्यक्रम रहेको थियो । घरदैलोका क्रममा विद्याले आफू जितेपछि पनि जनताको घरदैलोमा निरन्तर आउने र जनताको सेवक भएर काम गर्ने वाचा गर्नुभएको थियो । जनताको चाहना विकास भएकाले आफू स्थानीयस्तरमा गर्नुपर्ने विकासका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । लोक संस्कृतिको भूमि मानिने बाटुलेचौरमा संस्कृतिको उत्कृष्ट गन्तव्य बनाउन सकिने धारणा राख्नुभयो ।
यसैबीच, नेकपाले आज बाटुलेचौरमा चुनावी सभा आयोजना गर्यो । चुनावी सभालाई नेकपाका स्थायी समिति सदस्य देव गुरुङसहित नेकपा कास्कीका इञ्चार्ज राजकाजी गुरुङ, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापालगायतले सम्बोधन गरेका थिए ।