काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले प्यूठानमा नेकपाले केन्द्रीय सहमति उल्लंघन गरेको आरोप लगाउनु भएको छ । महामन्त्री सिंहले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीयस्तरमा बागलुङको प्रदेशसभा र प्यूठानको बरौडाको वडाध्यक्षमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने र अन्यत्र सबै ठाउँमा राष्ट्रिय जनमोर्चाले नेकपाका उम्मेदवारलाई समर्थन गर्ने सहमति भए पनि प्यूठानमा त्यसको उल्लंघन भएको बताउनु भएको हो ।
महामन्त्री सिंहले बाग्लुङको प्रदेशसभा उपनिर्वाचनमा नेकपाले इमान्दारिता र दृढतापूर्वक आफ्नो प्रतिवद्धतालाई पालन गरेको बताउँदै त्यसमा खुशी व्यक्त गर्नुभएको छ । यद्यपि प्यूठानमा भने नेकपाले आफ्नो उम्मेदवारी नदिए पनि स्वतन्त्र उम्मेदवारलाई जिताउन र राजमोका उम्मेदवारलाई हराउन नेकपाको जिल्ला नेतृत्व नै लागेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्णपाठ ः
आगामी मंसीरमा हुने बिभिन्न तहका उपनिर्वाचनहरुबारे हाम्रो र नेकपाको केन्द्रीय तहमा सहमति भएको थियो । त्यस अनुसार बाग्लुङको बुर्तिबाङको प्रदेशसभाको उपनिर्वाचन तथा प्यूठानको बरौलाको वडा अध्यक्षको चुनावमा उनीहरुले हामीलाई समर्थन गर्ने र केन्द्र, प्रदेश र स्थानीय तहका अन्य सबै निर्वाचनहरुमा हामीले उनीहरुलाई समर्थन गर्ने सहमति भएको थियो ।
जहाँसम्म हाम्रो प्रश्न छ, हामीले आफ्नो प्रतिवद्धतालाई पूरै पालन गरेका छौँ । कतिपय स्थानीय तहका चुनावहरुमा हाम्रा कतिपय समर्थकहरुले उम्मेदवारी दिएपनि नेकपासित भएको सहमतिलाई पालन गर्नका लागि हामीले आफ्ना कतिपय उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न लगाएका छौँ वा उम्मेदवारी दिन चाहेका अन्य कतिपय समर्थकहरुलाई पनि त्यसो गर्न रोकेका छौँ ।
त्यसका लागि हामीलाई खुसी लागेको छ कि, बाग्लुङको वुर्तिवाङको प्रदेश उपनिर्वाचनमा नेकपाले इमान्दारिता र दृढतापूर्वक आफ्नो प्रतिवद्धतालाई पालन गरेको छ । तर प्यूठानको बरौलामा हामीसित भएको सहमतिलाई खुला प्रकारले उलङ्घन गरिएको छ । त्यहाँ नेकपाका तर्फबाट कुनै आधिकारिक उम्मेदवारी दिइएको छैन । तैपनि त्यहाँ उनीहरुको तर्फबाट उम्मेदवार बनेको स्वतन्त्र व्यक्तिलाई त्यहाँको नेकपाको जिल्ला नेतृत्वले जिताउनको लागि आफ्नो पूरा शक्ति लगाएको छ । त्यो सङ्गठनका जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई हराउन पूरै लागिरहेका छन् । त्यो वास्तवमा केन्द्रीय स्तरमा भएको सहमतिको पूरा उलङ्घन हो । त्यसले उनीहरुको अत्यन्त अविश्वसनीय र निम्न राजनीतिक स्तरलाई बताउँछ । त्यसलाई हाम्रो पार्टीले कडा शब्दमा दुःख र क्षोभ प्रकट गर्दछ ।
हाम्रो समझदारी नेकपाको केन्द्रीय तहमा भएको थियो । त्यसकारण प्यूठानबारे केन्दीय स्तरमा भएको सहमतिलाई कार्यान्वयन गर्न नेकपाको केन्द्रीय नेतृत्वको दायित्व हुन्छ । यदि त्यसरी प्यूठानको बरौलाको वडाध्यक्षको चुनावबारे भएको सहमतिलाई कार्यान्वयन गरिएन भने त्यसले परस्परमा अविश्वासको वातावरण सृजना गर्ने छ । हामीले आशा गर्दछौँ, त्यस्तो हुने छैन ।
मोहनविक्रम सिंह
महामन्त्री
नेपाल कम्युनिष्ट पार्टी (मसाल)
२०७६ मंसिर ९ गते