सम्मरिमाई गाउँपालिकाका अध्यक्ष शुक्ला माओवादी केन्द्रमा

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ९ : ०८


काठमाडौँ । रुपन्देहीको सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपामाओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्लासहित वडाध्यक्ष श्रवणकुमार यादवलगायतका जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका कार्यकर्ता माओवादीमा प्रवेश गर्नुभएको हो। नवप्रवेशीलाई अध्यक्ष दाहालले पार्टीमा स्वागत गर्नुभएको थियो।

सो अवसरमा अध्यक्ष प्रचण्डले माओवादीको विजय यात्रालाई रोक्न सकिँदैन भन्ने ठानेर विगतदेखि नै निकै ठूलो षड्यन्त्रअन्तर्गतका गतिविधि भइरहेकाले त्यसलाई रोक्न सबैको सार्थक पहल जरुरी रहेको बताउनुभयो।

विगतमा पनि तराई मधेशमा माओवादीविरुद्ध ठूलो भ्रम छरिएको र माओवादीले केही पनि गर्दैन भन्ने कुरा स्थापित गर्न खोजिए पनि जनताका सामु त्यो सबै खारेज भएको उहाँको भनाइ थियो।

यतिबेला मधेसवादी भनिएका पार्टीले नै सङ्घीयता, गणतन्त्र, पहिचान अधिकार विरोधी केपी शर्मा ओलीसँग गएर साँठगाँठ गरेको उहाँको आरोप थियो । उहाँले जनताका बीचमा भएर पार्टीविरुद्ध छरिएका भ्रम चिर्न र सङ्गठित गर्न अध्यक्ष प्रचण्डले आग्रह गर्नुभयो।

यसैबीच माओवादीको शुक्रबार र शनिबारका लागि तय भएको केन्द्रीय समितिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।

माओवादीले पदाधिकारी चयनलगायतका विषयमा छलफलका लागि बैठक बोलाएको थियो।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो। रासस


प्रतिक्रिया दिनुहोस्