चीन र पाकिस्तानको साझा वक्तव्यमा जम्मु–कस्मिरको विषय समेटिएपछि भारत क्रुद्ध

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ५ : ५५


दिल्ली। पाकिस्तान र चीनले हालै एक संयुक्त वक्तव्य जारी गरेका थिए।

सो वक्तव्यमा पाकिस्तान–चीन आर्थिक कोरिडोरको विषयसँगै जम्मु–कस्मिरको विषय पनि समेटिएको थियो।

भारतको विदेश मन्त्रालयले बिहीबार चीन र पाकिस्तानको बयानमा जम्मु–कस्मिरको विषय समेटिएको भन्दै विरोध जनाएको छ।

जम्मु–कस्मिर तथा लद्दाख भारतको अभिन्न अंग भएकाले यस विषयमा दख्खल नदिन भारत सरकारले आग्रह गरेको हो। यी भूमिका विषय आन्तरिक भएकाले बाह्य राष्ट्रले यसमा चासो लिन नहुने मन्त्रालयको टिप्पणी छ।

चीन र पाकिस्तानको बयानमा जम्मु–कस्मिरमा भइरहेको गतिविधिलाई चीनले नजिकैबाट नियालीरहेको उल्लेख गरिएको थियो।

वास्तवमा चीन र पाकिस्तान दुवै राष्ट्रसँग भारत पहिल्यैबाट चिढिएको छ। किनभने चीन र पाकिस्तान दुवैसँग भारतको सीमा विवाद जारी छ।

भारत र पाकिस्तानबीचको कस्मिर विवाद दशकौं पुरानो मुद्दा हो।

सिंगो कस्मिर पनि दुई देशमा विभाजित छ। भारत प्रशासित कस्मिर र पाकिस्तान प्रशासित कस्मिरको सीमा क्षेत्रमा गोलाबारी पनि हुँदै आएको छ।

पाकिस्तानका अनुसार कस्मिरका जनता कुन देशमा जान चाहन्छन् त्यसका लागि जनमत संग्रह गरिनुपर्दछ। तर भारतले कस्मिरलाई आफ्नो भूमि बताउँदै यस विषयमा पाकिस्तानलाई नबोल्न चेतावदी दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्