विप्लव कार्यकर्ताले कार्यालयमै पुगेर वडाध्यक्षलाई दले कालोमोसो

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ३ : ३९


कञ्चनपुर । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका वडा अध्यक्षलाई मोसो दलेका छन।

बिहीबार बेलडाँडी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेम खातीलाई उनीहरुले मोसो लगाएका हुन् ।

विप्लव निकट युवा संगठनले विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ। वडा अध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही’ गरिएको उनीहरुको दाबी छ।

वडा अध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्धारा आफु अनुकुल काम गरेको आरोप लगाइएको छ।

यस्तै वडा अध्यक्षले गाउँपालिका कार्यालयको पछाडी रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, वडा कार्यालयमा नजाने र कालिकिच उपभोक्ता समितिद्धारा निर्माण गरिएको सडकमा समेत आर्थिक अनियमितता गरेको युवा संगठन नेपाल को आरोप छ।

बिहीबार दिउँसो ६० भन्दा बढी कार्यकर्ताको समूहले वडाअध्यक्षलाई कार्यालयमै कालोमसो लगाएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्