काठमाडौं । दशैँ तिहार जस्तै नयाँ वर्ष पनि चलचित्र प्रदर्शनमा ल्याउनका लागि उत्तम साइत मानिन्छ । यस वर्षका लागि पनि नयाँ वर्षको अवसर पारेर प्रदर्शन मिति तोक्ने फिल्मको संख्या तीन पुगिसकेको छ । सबै भन्दा पहिले ‘प्रेम गीत ३’ ले प्रदर्शन मिति तोकेको चैत २८ मै अब ‘चपली हाइट ३’ पनि प्रदर्शन हुने भएको छ । गत ५ गतेदेखि छायांकन सुरु भएको फिल्मले चैत २८ लाई प्रदर्शन मिति तोकेको हो ।
निकेश खड्काको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम आदि मुख्य भूमिकामा छन् ।
यी दुई बाहेक पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित ‘मन परेसी पर्यो पर्यो’ पनि चैत २८ मै आउने कुरा छ ।
‘प्रेम गीत’बाट फिल्म इन्डस्ट्रिमा प्रवेश गरेका प्रदिप खड्काको लागि ‘प्रेम गीत ३’ निकै महत्त्वपूर्ण चलचित्र हो । ‘प्रेम गीत’ सिरिज बाहेक उनका कुनै पनि फिल्मले राम्रो कारोबार गर्न सकेको छैन । त्यही अनुरुप चलचित्रको तयारी पनि भव्य देखाइएको छ । फिल्मकी मुख्य पात्र गीतलाई अडिसन मार्फत चुन्नुले फिल्मको चर्चा बढाएको थियो । ऐतिहासिक कथा रहेको चलचित्रमा लगानी पनि ठूलै रहेको बताइएको छ ।
अब सबै फिल्म तोकेकै मितिमा आउँछन आउँदैनन् वा व्यापार कस्तो गर्छन भन्ने कुरा भने फिल्म आएपछि नै थाहा लाग्नेछ ।