खोपको विरोधमा ट्रक सडकमा राखेर प्रदर्शन गर्नेलाई क्यानडामा आपराधिक अभियोग लाग्ने

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ११ : ५६


ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै त्यसलाई अस्वीकार्य कार्य भनेका छन्।

त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ।

ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ।

बीबीसीका अनुसार लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु गरेको प्रदर्शन अहिले निकै व्यापक भएको छ।

ओटावास्थित संसद्‍मा बुधवार बोलेका ट्रुडोले कोभिड नियमहरूको बचाउ गरेका छन्।

‘अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य छन् र तिनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेका छन्’ उनले भने।

उनले प्रदर्शनकारीहरूले देशको ‘अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पार्ने प्रयास गरेको’ बताए।

सोमवारबाट प्रदर्शनकारीहरूले अमेरिकासँग जोडिने एउटा मुख्य पुलमा समेत अवरोध पुर्‍याएका छन्।

अमेरिकासँग जोडिने मुख्य मार्गमा समेत अवरोध खडा पारिएपछि ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकीले प्रदर्शन अन्त्यको आह्वान गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्