वासिङ्टन। अमेरिकाले आतंकवादी संगठन आइसेस–केका मुख्य नेता सनउल्लाह गफारीको जानकारी दिने व्यक्तिलाई एक करोड अमेरिकी डलर इनाम दिने घोषणा गरेको छ।
एएफपीका अनुसार अमेरिकी राज्य विभागले गफारीको पहिचान वा स्थान भन्नसक्ने व्यक्तिलाई इनाम दिने बताएको हो।
तालिबानले जब अफगानिस्तान आफ्नो कब्जामा लिएको थियो त्यसको केही समयपछि अगष्ट २६ मा काबुल विमानस्थलमा आतंकवादी आक्रमण भएको थियो।
सो आक्रमणमा १३ अमेरिकी सेनासहित १८३ जनाको मृत्यु भएको थियो भने अन्य १५० भन्दा बढी घाइते भएका थिए।
सो आक्रमणको जिम्मा आइसेस–के ‘इस्लामिक स्टेट–खोर्सान’ समूहले लिएको थियो। यो आतंकवादी समूह इराक र सिरियाबाट उत्पत्ति भएको आईएसकै क्षेत्रीय समूह हो जसले अफगानिस्तानम आतंकवादी गतिविधि गर्दै आएको छ।
आइसेस–केले तालिबानले कट्टर मुस्लिम धर्म नमानेको खण्डमा आफूले उसलाई पनि नछाड्ने चेतावनी दिएको छ। अमेरिकाका अनुसार गफारीलाई सबाब–अल मुहाजिर भनेर चिनिन्छ।
उनी सन् २०२० जुन महिनामा आइसेस–के समूहको मुख्य नेता चुनिएका थिए। अमेरिकी सेना र अन्य निर्दोष मानिसहरु मारिनुमा गफारी दोषी भएकाले उनको खोजी कार्य भइरहेको छ।