काठमाडौँ । नेपाली बाँसुरीवादक मनोज सिंह संलग्न एल्बम ‘देवा’ २०२० को ग्रामी अवार्डको मनोनयनमा परेको छ ।
आउँदो जनवरी २६ मा अमेरिकामा हुने अवार्डको ६२ औं संस्करणमा मनोज संलग्न एल्बम ‘देवा’ कन्टेम्पररी इन्स्ट्रुमेन्टल म्युजिक अन्तर्गत बेस्ट न्यु एज एल्बम विधामा मनोनयनमा परेको हो । संगीतको गरिमामय अन्तर्राष्ट्रिय अवार्ड मानिने ग्रामीमा नेपाली संगीतकार संलग्न सिर्जनाले पहिलो पटक प्रवेश पाएको हो ।
मनोनयनको मुख्य जस भने जर्मन गायिका देवा प्रेमलको एल्बम ‘देवा’ लाई जानेछ । नेपाली रक ब्यान्ड २०७४ एडीका पूर्वसदस्य सिंह पछिल्लो समय अमेरिका बसेर गायिका प्रेमल र उनका पति मिटेनसँग सांगीतिक सहकार्य गर्दै आइरहेका छन् । बौद्ध र हिन्दु मन्त्रमा आधारित यो एल्बमका लागि सिंहले बाँसुरी बजाएका छन् ।
७ वटा गीत समेटिएको एल्बममा स्लो योगा शैलीको अध्यात्मिक संगीत र गायन समेटिएका छन् । मेडिटेटिभ र स्पिरिचुअल संगीतका लागि चिनिएकी गायिका प्रेमलले एल्बम ‘देवा’ गायत्री मन्त्रको सत चक्रबाट सुरु गरेकी छन् । यसपछि उनको एल्बममा ‘सर्व मंगला…’, ‘प्रभुजी…’, ‘बुद्धम् शरणम्…’, ‘महामन्त्र…’, ‘वक्रतुण्ड महाकाय…’ सुन्न सकिन्छ । एल्बमको अन्तिममा पनि गायत्री मन्त्रकै सात चक्रको मिक्स भर्सन सुन्न सकिन्छ । आफ्नो फेसबुक पेजमार्फत भनेका छन्, ‘हामी ग्रामीका लागि नोमिनेट भयौं भन्ने देवाबाट थाहा पाउँदा निकै खुसी लाग्यो । यो सबैका लागि सुखद समाचार हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।