मुम्बई । कुनै पनि फिल्मको सफलताको मापन त्यसले कति कमायो भन्ने हिसाबमा गरिन्छ । देश अनुसार कति कमाए सफल भन्ने मापदण्ड पनि फरक हुने गर्छ । भारतमा कुनै फिल्मले सय करोड कमाउनुलाई पनि एउटा ठूलो सफलता मानिन्छ । फिल्मको बजेट हेरेर कत्रो उपलब्धी निर्धारण गरिन्छ ।
भर्खर प्रदर्शनमा आएको फिल्म 'बाला'ले शुक्रबार मात्रै सय करोड क्लबमा प्रवेश गरेको छ । मात्र २५ करोडमा बनेको उक्त फिल्मले सय करोडको आँकडा छुनुलाई ठूलै उपलब्धी मान्न सकिन्छ । फिल्मबाट कामको हिसाबले पनि मुख्य कलाकार आयुष्मान खुरानाले तारिफ पाए ।
यसै वर्ष आयुष्मान अभिनित अर्को फिल्म 'ड्रिम गर्ल'ले पनि सय करोड कमाएको थियो । मात्र ३० करोड लगानी रहेको फिल्मले विश्वभरबाट दुई सय करोड माथीको कारोबार गरेको थियो ।
यस वर्ष सय करोड क्लबमा रहेको बलिउडका १५ फिल्म मध्ये दुई वटा आयुष्मानका फिल्म रहेका छन् । सय करोडको आँकडा नछोए पनि दर्शक र समीक्षक दुवैले मन पराएको आयुष्मानको अर्को फिल्म हो 'आर्टिकल १५' । समग्रमा आयुष्मानको यो वर्ष निकै सफल रहेको छ । यसै वर्ष उनले भारतको प्रतिष्ठित राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।
'बाला' र 'ड्रिम गर्ल' बाहेक उनको अघिल्लो वर्षको 'बधाइ हो'ले पनि सय करोड माथीको कमाइ गरेको थियो । यतिबेला आयुष्मान 'शुभ मंगल ज्यादा सावधान' र 'गुलावो सितावो'लाई लिएर काम गर्दैछन् ।