फ्रान्सका राष्ट्रपति भन्छन्ः रुस–युक्रेनबीच हुने युद्ध रोक्न एक सम्झौता गर्न सकिन्छ…

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १२ : १९


पेरिस। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले सोमबार मस्कोमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग छलफल गर्दैछन्।

छलफल अगाडि उनले रुसले आफ्नो सुरक्षाको चिन्ता लिनु अर्थपूर्ण भएको बताउँदै युक्रेन र रुसबीच हुने युद्ध रोक्न एउटा सम्झौता गर्न सकिने बताएका छन्।

रुसले युक्रेनसँको सीमा क्षेत्रमा एक लाखभन्दा बढी सेना तैनाथ गरेपछि उसले युक्रेनमा आक्रमण गर्न लागेको भन्दै अमेरिका लगायत पश्चिमा राष्ट्रले चिन्ता व्यक्त गरेका छन्। यद्यपी आफूले युक्रेनमा आक्रमण गर्न लागेको विषय रुसले स्वीकार गरेको छैन।

रुसले पश्चिमा राष्ट्रसँग सर्त राखेको छ त्यो के भने ‘युक्रेनलाई नेटोको सदस्य बनाउन हुँदैन।’ रुसले पूर्वी युरोपबाट नेटोका सेनाहरु घटाएर तैनाथ गर्नुपर्ने पनि बताएको छ।

पश्चिमा राष्ट्रले भने रुसी माग खारेज गरिदिएको छ र वार्ताका लागि नयाँ मुद्दाहरू उठाएको छ। पश्चिमा राष्ट्र रुससँग भन्छः आणविक हतियार कटौती गर्ने विषयमा वार्ता अगाडि बढ्नुपर्छ।

फ्रान्सेली राष्ट्रपति म्याक्रों जर्नल डू डिमंचे अखबारसँगको अन्तर्वार्तामा भन्छन्,‘रुसको उद्देश्य युक्रेन होइन। रुसले नेटो र युरोपेली संघसँग उनीहरुको नियमबारे स्पष्टीकरण चाहेको छ।’

उनले रुसी राष्ट्रपतिसँगको वार्ताले सैन्य द्वन्द्व रोक्न मद्दत पुग्ने उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिन विभिन्न विषयमा छलफल गर्न तयार रहेको बताए।

‘हामीले हाम्रा युरोपेली देशहरूको सार्वभौमसत्ता र शान्तिलाई कायम राख्न सन्तुलन कायम गर्नुपर्छ’ उनले भने,‘यो रूसको सम्मान र समझदारीका साथ गरिनु पर्छ।’

सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।

सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया क्षेत्र आफ्नो भूभागमा गाभेको थियो।

यदी युक्रेन नेटोको सदस्य बनेको खण्डमा रुसले युक्रेनलाई कुनै हालतमा दबाब दिन सक्दैन। त्यही कारण रुस अहिले झस्किएको छ। बीबीसी र एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्