काठमाडौं । पछिल्लो सफल नेपाली फिल्म हेर्ने हो भने दशैँमा प्रदर्शनमा आएको 'छ माया छपक्कै' मात्रै छ । जम्मा जम्मी यस वर्ष सफल भनेर सम्झिन योग्य छ माया छपक्कै बाहेक 'कबड्डी कबड्डी कबड्डी' र 'जात्रै जात्रा' मात्रै हुन् । ति बाहेक कति फिल्म आए कति गए लेखाजोखा नै छैन ।
कात्तिक महिनामा धेरै फिल्म रिलिज भए । कतिले विभिन्न कारण देखाउँदै मिति सारेर प्रदर्शनमा आउँदा पनि केही लाभ भएन ।
यतिबेला मल्टिप्लेक्समा नेपाली फिल्मको उपस्थिति हेर्ने हो भने शुक्रबारदेखि प्रदर्शनमा आएको 'च च हुई' मात्रै छ । त्यो पनि मात्र उपस्थिति जनाउनका लागि । रिलिजकै दिनदेखि एकदमै कम शो पाएको 'च च हुई'ले पाएको शोमा पनि दर्शक पाएको छैन ।
फिल्मको स्पेशल स्क्रिनिङमा उपस्थित चलचित्रकर्मीले फिल्मलाई राम्रो भने पनि दर्शकले भने पत्याएनन् । यो वर्ष आर्यनको लगातार दोस्रो असफल फिल्म हो । यस अघि विकास राज जोशी निर्देशित 'हजार जुनीसम्म' पनि हलमा धेरै दिन टिक्न सकेको थिएन ।
साम्तेन भुटिया निर्देशित 'च च हुई'मा आर्यन सहित भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, सुलक्षण भारती लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
यता नेपाली फिल्म नचलिरहेका हलिउड र बलिउडका फिल्ममा भने दर्शकको ओइरो छ । शुक्रबारदेखि ने प्रदर्शनमा आएको हलिउड फिल्म 'फ्रोजन २' ले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ त्यस्तै 'बाला' जस्तो कम बजेटमा बनेको बलिउड फिल्ममा पनि दर्शक अझै जाँदैछन् ।
'च च हुई' मात्रै होइन पछिल्लो समय राम्रै प्रचार प्रसार भएका, आशा गरिएका कुनै पनि फिल्म चलेका छैनन् । 'घामड शेरे', 'पोइ पर्यो काले' आदि त्यसका उदाहरण हुन् । अब शुक्रबारदेखि नेपाली फिल्म 'सरौतो' र 'लभ यु हमेशा' प्रदर्शनमा आउँदैछन् ।