हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इट्टा नष्ट

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  २ : ५६


सिरहा। बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो इट्टा नष्ट भएको छ ।साथै पाँच करोडभन्दाको पकाउन ठिक्क परेको इट्टा पनि गलेको छ।

इट्टा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन्। सिरहाका ५० भन्दा बढी इट्टा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इट्टा पूर्णरुपमा नष्ट भएको उनले बताए। उनले आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इट्टा गलेको बताए।

संघका कोषाध्यक्ष रामसगुन यादवले पनि पकाउनका लागि तयारी अवस्थामा राखिएका सबै काँचो इट्टा गलेको जानकारी दिए। उनका अनुसार हरेक उद्योगका पाँच देखि १५ लाख वटासम्म इट्टा गलेर नष्ट भएका छन्। उनले आफ्नै उद्योगमा समेत आठ लाखभन्दा बढी इट्टा काम नलाग्ने गरी गलेको सुनाए।

हिउँदे वर्षाले सबैभन्दा धेरै गोलबाजर क्षेत्रका इट्टा उद्योगमा क्षति पुगेको छ।


प्रतिक्रिया दिनुहोस्