प्युठान जीप दुर्घटनाः मृतक ७ जनाको पहिचान खुल्यो, एकै घरका तीन जनाको मृत्यु

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ०५


प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउने ८ जनामध्ये सात जनाको सनाखत भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

मृत्यु हुनेमा गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेका छन् । यस्तै २९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्काको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । एक जनाको भने सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्