पत्रकारलाई धम्की दिने दुर्गा प्रसाईंलाई कारवाही गर्न माग

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ११


काठमाडौं । नेपाल पत्रकार महासंघले मेडिकल व्यापारी दुर्गा प्रसाईंलाई कारवाही गर्न माग गरेको छ।

झापास्थित बिएण्डसी अस्पतालका सञ्चालक प्रसाईले पत्रकारलाई धम्की दिएको भन्दै महासंघले आपत्ति जनाएको छ।

महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न २०७८ माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए।

‘कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ’ महासंघले भनेको छ, ‘यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो।’

महासंघले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गर्न माग गरेको छ।


प्रतिक्रिया दिनुहोस्