‘रुसलाई नियन्त्रणमा लिन अमेरिकाले युक्रेनको सहारा लियो’

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १ : ४२


मस्को। पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गर्नसक्ने भन्दै अमेरिका लगायत नेटोमा आवद्ध देशहरुले चिन्ता व्यक्त गरिरहेका छन्।

अमेरिकाले युक्रेनमाथि रुसी हमला ‘भीषण हुन सक्ने’ भन्दै त्यसबाट ठूलै सङ्ख्यामा हताहती हुन सक्ने चेतावनी दिएको छ।

अमेरिकाका अनुसार युक्रेनको सीमा नजिकै १ लाख रुसी सेनाको उपस्थिति छ। रुसले शीत युद्ध यताकै सबभन्दा ठूलो संख्यामा सो क्षेत्रमा सेना तैनाथ गरेको बताइन्छ।

तर रुसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ र युक्रेनलाई उपलब्ध अमेरिकी सहयोग खतरा रहेको बताउँछ।

अमेरिकी राष्ट्रपति जो बाइडनले छिटै पूर्वी युरोपमा नेटो उपस्थिति बलियो बनाउन सानो सङ्ख्यामा सैनिकहरू पठाउने बताएका छन्।

रुस यसो भन्छ…
युक्रेनलाई नेटोमा आवद्ध गराउने प्रयास भएपछि रुसले अमेरिकासँग युक्रेनलाई नेटोको सदस्यता नदिन आग्रह गरेको छ। अमेरिकाले रुसी आग्रह वेवास्ता गरिरहेको छ।

यसरी युक्रेनलाई पश्चिमा राष्ट्रहरुले समर्थन गरिरहेका बेला रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार ‘रुसलाई नियन्त्रणमा लिन अमेरिकलो युक्रेनको सहारा’ लिएको बताएका छन्।

रुस सोभियत संघ हुुुँदा युक्रेन सोही देशको हिस्सा थियो। तर त्यसको पतनसँगै रुस अलग्गिएर पश्चिमासँग सम्बन्ध अगाडि बढाउन अग्रसर बनेको देखिन्छ। पछिल्लो समय युक्रेनको सीमामा सेना तैनाथ गर्नु आफ्नो देशको सुरक्षा गर्न त्यसो गरेको रुसले बताउँछ।

युक्रेनबारे आफ्ना मागलाई बेवास्ता गर्नुले अमेरिकाले रुसलाई अप्रत्यक्ष रुपमा नियन्त्रणको लागि युक्रेनको सहारा लिएको क्रेमलिनको बुझाई छ।


प्रतिक्रिया दिनुहोस्