सबइन्जिनियर यादवलाई कार्यालयमै लगाइयो कालोमोसो र जुत्ताको माला

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : २७


सोलुखुम्बु । शिक्षा विकास समन्वय इकाई सोलुखुम्बुका सबइन्जिनियर पवन कुमार यादवमाथि कालोमोसो र जुत्ताको मालासहित हातपात भएको छ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले उनलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन्।

सबइन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा भ्रष्टचार गरेको आरोप लगाउँदै सोमबार दिउँसो कार्यालयमै पुगेका विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का कार्यकर्ताले हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन्।

दिउँसो करिब १ बजे मास्क लगाएर कार्यालयमा आएका १० जनाजति युवाहरुले नाराबाजी सहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताए। कालोमोसो लगाइदिएपछि क्रान्तिकारीले कार्यालयको मुख्यद्वारमा प्रेस विज्ञप्ति टाँस गरेको छ।

क्रान्तिकारीका संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा शिक्षा समन्वय इकाईका सबइन्जिनियरुहरु पवन कुमार यादव र नविन कुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ।

आफूहरुले सो रकम विद्यालयलाई फिर्ता गर्न पटकरपटक आग्रह गरेपनि बेवास्ता गरेका कारण सांकेतिक रुपमा कारबाही गरेको विज्ञप्तिमा भनिएको छ। साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही समेत गर्ने समेत चेतावनी दिइएको छ।

सवइन्जिनियरद्वयले महाकुलुङको कैलाश आधारभूत विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ आधारभूत विद्यालयमा ५० हजार, बाखोर र चेपेल आधारभूत विद्यालयमा ३५/३५ हजार र खिरौले आधारभूत विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टचार गरेको आरोप लगाइएको छ।

यस अघि पनि विप्लव निकटका कार्यकर्ताले आफूलाई हातपात गरेको पीडित सबइन्जिनियर यादवले बताए। यादवले आफ्नो कुनै कमजोरी नरहेको र कानुनी कारबाहीमा जान आग्रह गरेको भएपनि आफूमाथि भौतिक आक्रमण भएको भन्दै दुस्ख व्यक्त गरे । घटनापछि फरार भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

?????????


प्रतिक्रिया दिनुहोस्