काठमाडौं। लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’मा तेजस्वी प्रकाश नयाँ विजेता बनेकी छन्। विजेता बनेसँगै तेजस्वीले ट्रफीका साथ ४० लाख रुपैंयाँ पुरस्कार पनि जितिन्।
शोमा प्रतीक सहजपाल फस्ट रनरअप र करण कुन्द्रा सेकेण्ड रनरअप बने। आइतबार राती भएको फिनालेमा निशान्त भट्ट, तेजस्वी प्रकाश, करण कुन्द्रा, प्रतीक सहजपाल र शमिता शेट्टीबीच ट्रफीका लागि कडा प्रतिष्पर्धा भएको थियो।
तर निशान्त १० लाख रुपैंयाँ लिएर शोबाट बाहिरिएका थिए। जसलाई शोका होस्ट सलमान खानले पनि सही निर्णय भनेका थिए। यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो।
अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक स्पर्धामा तेजस्वीले ‘बिग बोस १५’को उपाधि पोल्टामा पारिन्। शोको विजेता बनेसँगै तेजस्वी निर्मात्री एकता कपूरको लोकप्रिय टेलिभिजन शो ‘नागिन’को ‘नयाँ नागिन’ घोषित भइन्।