स्थानीय तहको सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्छ: हृदयेश त्रिपाठी

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ४ : ०१


जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्।

आइतबार विज्ञप्ति निकालेर उनले स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिसअनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नामांकन र सिमांकन सकेर मात्र निर्वाचनमा जानुपर्ने बताएका हुन्।

आगामी जेठमा निर्वाचन सम्पन्न गर्ने दलहरूको प्रतिबद्धता स्वागत योग्य रहेको बताउँदै त्रिपाठीले भनेका छन्, ‘स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन । तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनि जनता प्रगतिशील पार्टी नेपालको जोडदार मागं छ।’

प्रेस विज्ञप्ति

सत्तापक्षीय गठबन्धनद्वारा स्थानीय तहको निर्वाचन आगामी जेठसम्म सम्पन्न गराउने प्रतिबद्वता स्वागतयोग्य छ। संवैधानिक र कानुनी अस्पष्टता अनगिन्ती संख्यामा रहेको तथ्य प्रति पुनः ध्यानाकर्षण गराउन चाहन्छु। किस्ता बन्दीमा तत्कालीन रुपले समस्या हल गर्ने प्रवृत्तिले समस्याको समाधान दिँदैन। अपितु पन्छ्याउने कार्य मात्र गर्दछ। यस प्रकारको शुतुरमुर्गे प्रवृत्ति कुनै समयमा घातक सावित हुन सक्नेप्रति सचेत गराउन चाहन्छु। स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन। तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिस प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनि जनता प्रगतिशील पार्टी नेपालको जोडदार मागं छ। अन्यथा निर्वाचन जस्तो कार्यमा बाधा समेत पुग्न सक्ने परिस्थिति सृजना हुन सक्ने तथ्य प्रति सचेत गराउन चाहन्छु।

हृदयेश त्रिपाठी

अध्यक्ष जनता प्रगतिशील पार्टी, नेपाल

 


प्रतिक्रिया दिनुहोस्